काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपाल विभाजनका सङ्घारमा पुगेको छ । सो पार्टीका सात सांसदले आज निर्वाचन आयोगमा पार्टीको आधिकारिता दाबी गर्दै निवेदन दिएका छन् ।

जसपाका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको जसपाका सांसद सुशीला श्रेष्ठले जानकारी दिनुभयो । “अहिले हामी सांसदहरु सात जना छौँ, अरू पनि थुप्रै आउनुहुन्छ । उहाँहरू सम्पर्कमै हुनुहुन्छ”, सांसद श्रेष्ठले भन्नुभयो ।
सांसद श्रेष्ठले आफ्ना मुद्दालाई जनतासमक्ष प्रभावकारी रुपमा लैजान र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन अहिलेको बाटो तय गरेको दाबी गर्नुभयो ।

उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीसमेत रहनुभएका जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहनुभएका बेला अर्को समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेको हो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार जसपाका सांसदहरुले निवेदन दर्ता गराएको र सोको अध्ययन भइरहेको छ ।
जसपाको सङ्घीय संसद्मा १२ सांसद हुनुहुन्छ । उहाँहरूमध्ये सात सांसदले निर्वाचन आयोगमा निवेदन दर्ता गराउनुभएको हो ।
निवेदनमा हस्ताक्षर गर्नेमा अशोक राई, नवलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहनुभएको छ । त्यस्तै, केन्द्रीय कार्यकारिणी समितिका नौ र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएको बताइएको छ ।