बाँके । बाँकेको जानकी गाउँपालिका–२ नेवाजी गाउँमा मध्यराति भएको आगलागीले केवल एक गोठ मात्र होइन, एउटा किसान परिवारको सम्पूर्ण जीवन आधार नै खरानी बनाइदिएको छ ।
स्थानीय भगवानदिन यादवको गोठमा लागेको भीषण आगोमा परेर ७ वटा भैंसी जलेर मरेपछि अहिले परिवार गहिरो चिन्तामा डुबेको छ भने पूरै गाउँ शोकमा डुबेको छ।
पीडित यादव परिवारको एकमात्र आयस्रोत भैंसीपालन नै थियो । दूध बिक्री गरेर दैनिक गुजारा चलाउँदै आएको यो परिवारका लागि भैंसी जलेर नष्ट हुनु भनेको रोजीरोटी, सपना र भविष्य सबै गुम्नु सरह बनेको छ ।
“भैंसी नै हाम्रो सबैथोक थियो,” पीडित भगवानदिन यादवले भावुक हुँदै भन्नुभयो, “अब घर कसरी चलाउने, छोराछोरी कसरी पाल्ने भन्ने चिन्ताले निद्रा हराएको छ ।”
जस्तापाताको छाना भएको गोठमा लागेको आगलागीबाट गोठ, पराल, भुस तथा ४ क्विन्टल गहुँ पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागी राति नै भए पनि बिहान करिब ४ बजे मात्र थाहा पाएको यादव परिवार गोठमा पुग्दा सबै कुरा खरानी भइसकेको थियो।
जानकी गाउँपालिका वडा नम्बर–२ का वडा अध्यक्ष एवं पालिकाका प्रवक्ता टिकानाथ यादव घटना स्थलको अनुगमन गरेर फर्किए पछि रेडियो नेपाल संग कुरा गर्दै भन्नुभयो,आगलागीबाट करिब ९ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको भैंसी नष्ट भएको छ। उहाँले गाउँपालिकाको तर्फबाट पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता जनाउनुभयो।
घटनाको जानकारी पाएपछि प्रहरी टोली र जनप्रतिनिधिहरू घटनास्थलमा पुगेर मुचुल्का उठाएका छन् । बाँके प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष छब्बन खाँसहित वडा अध्यक्षहरू समेत घटनास्थलमा पुगेर पीडित परिवारको अवस्था बुझ्दै सहानुभूति व्यक्त गर्नुभएको थियो ।
एकै रातमा परिवारको सम्पूर्ण आयस्रोत समाप्त भएपछि यादव परिवार भविष्यको चिन्तामा डुबेको छ । आगोले जलेको गोठसँगै उनीहरूको आशा पनि खरानी भएको छ, र यही पीडाले आज नेवाजी गाउँलाई मौन शोकमा डुबाएको छ ।