बाँके । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले लोकतन्त्रलाई भीडतन्त्रको हातमा सुम्पनु खतरनाक हुने बताउनु भएको छ । इतिहासबाट पाठ नसिकिए लोकतन्त्र नै गम्भीर संकटमा पर्न सक्ने भन्दै उहाँले नागरिकलाई सचेत निर्णय गर्न आग्रह गर्नुभयो ।
निर्वाचन प्रचार–प्रसारका क्रममा युवाहरूसँगको अन्तरक्रियामा बोल्दै बिष्टले हिटलरको उदयलाई उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। “इतिहास किताबमा मात्र सीमित हुँदैन, समय–समयमा हाम्रो आँखै अगाडि दोहोरिन्छ,” उहाँले भन्नुभयो, “हिटलर जनताको निराशा र संकटकै बीच उदाएको थियो—मिठा भाषण, अरूलाई दोष थोपर्ने प्रवृत्ति र ‘समाधान म मात्र हुँ’ भन्ने भ्रमसहित।”
उहाँका अनुसार ताली र भीडको अन्धो समर्थनकै कारण लोकतन्त्र समाप्त भयो र त्यसको परिणामस्वरूप लाखौँ निर्दोष नागरिकले ज्यान गुमाए। “जब भीडतन्त्र हावी हुन्छ, विवेक मौन हुन्छ,” बिष्टको जोड थियो।
वर्तमान निर्वाचन सन्दर्भमा संकेत गर्दै उहाँले केही नयाँ भनिने दलहरू पनि पुरानै शैलीको ‘सजिएको संस्करण’ जस्तो देखिन थालेको टिप्पणी गर्नुभयो। “नारा नयाँ छन्, अनुहार ताजा देखिन्छन्, तर झुटको खेती उही पुरानै शैलीमा भइरहेको छ,” उहाँले भन्नुभयो। धेरै वाचा गर्ने तर जिम्मेवारी सधैँ भोलिका लागि सार्ने प्रवृत्ति लोकतन्त्रका लागि गम्भीर खतरा भएको उहाँको भनाइ थियो।
“जब झुटलाई ‘परिवर्तन’को नाम दिइन्छ, त्यही दिन सत्यलाई सबैभन्दा गहिरो चोट पुग्छ,” भन्दै बिष्टले नागरिक चेतनाको आवश्यकता औँल्याउनुभयो। उहाँले प्रश्न गर्नुभयो,“हामी सचेत नागरिक हौँ, कि भीडतन्त्र र लोकतन्त्रको दोबाटोमा उभिएका मौन दर्शक ?”
यही सन्देशसँगै नेपाली कम्युनिष्ट पार्टीले युवालाई लक्षित गर्दै बाँके क्षेत्र नं. २ मा दिपेन्द्र बिष्टलाई उम्मेदवार बनाएपछि जेन–जी युवाहरूमा विशेष उत्साह देखिएको छ।
नेपालगञ्जमा नेकपा बाँकेले युवालाई निर्वाचनमा परिचालन गर्ने उद्देश्यले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी वक्ताहरूले बिष्टसहित तारा चुनाव चिन्हमा मतदान गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाकस केन्द्रीय आयोजक समितिका सदस्य एवं निर्वाचन परिचालन समिति क्षेत्र नं. २ की इन्चार्ज पूर्ण कुमारी सुवेदीले युवाशक्ति नै लोकतन्त्रको साँचो रक्षक भएको बताउनुभयो।
कार्यक्रममा समानुपातिक उम्मेदवार जामिया खातुन, काली मियाँ ‘कस्मिर’, नेकपाका नेताहरू रत्न शाही, गोपाल पुन लगायतले प्रशिक्षण दिनु भएको थियो ।