काठमाडौ । दशैं नेपालीहरुको महान पर्व सबै नेपालीहरुले परिवारको साथ उल्लासपूर्वक यो पर्व मनाईरहेका छन। तर यस्तो अवस्थामा नेपाली संचारमाध्यमहरु निरन्तर क्रियाशील भैरहेका छन। प्राय पत्रपत्रिकाको प्रकाशन केही दिनका लागि स्थगित गरिएपनि टेलिभिजन,रेडियो तथा अनलाईनहरुले नियमित कार्य जारी राख्दै अपडेट गर्ने आफ्नो धर्म निर्बाह गरिरहेका छन।
दशैंका बेला आकस्मिक घटना बाहेक तत्कालिन पंचायती व्यवस्थाका बेला तत्कालिन राजाका दशैंमा भएका गतिबिधि संचारमाध्यममा मूल समाचार बन्दथे। तर तत्कालिन प्रधानमन्त्री स्वर्गीय मरिचमानसिंहले प्रधानमन्त्री निवास बालुवाटारमा आफ्नो परिवारलाई टिका लगाईदिएको समाचार कहिल्यै बनेन। नेपालमा २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना भएपछी दशैंमा दरवारका गतिबिधिका साथै प्रधानमन्त्री र मन्त्रीहरुका गतिबिधिसम्म थपिए। दशैंका बेला बस तथा बिमान दुर्घटना जस्ता दुखदायी समाचार सम्पेषणमा संचारकर्मीहरु ब्यस्त हुनु पर्यो। यसपाली पनि बस दुर्घटनाबाट भएको जनधनको क्षति सम्बन्धि समाचार सम्प्रेषण गर्न संचारमाध्यमहरु बाध्य भएका थिए। बिगतका वर्षहरुमा मूल दशैंका बेलामा पनि कतिपय प्रधानमन्त्री मन्त्रीहरुले विदेश गएर फर्कि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गरे जुन ठाँउमा संचारकर्मी नगई सुखै पाएनन। तत्कालिन प्रधानमन्त्री स्वर्गीय शूर्यबहादुर थापा दलहरुको समर्थनमा एकपटक प्रतिनिधि सभामा विश्वासको मत महाअष्टमीको दिन लिएका थिए। प्रधानमन्त्री निवासमा हुने टिकोटालोको दशैंभर समाचार बनाउन पनि पत्रकार बाध्य भएका थिए।
प्रस्तुत लेखमा तत्त्कालिन राजदरवारको टिकाको समाचार संकलन गर्दाको स्मरण गरिरहेको छु।
तत्कालिन दरवारले फूलपातीको अघिल्लो दिन सरकारी अफिस खुल्ने अन्तिम दिन राजाले देशबासीका नाममा दिएको सन्देश संचारमाध्यमलाई उपलब्ध गराउने गर्दथ्यो जुन प्राय दरवारको ढोकामा लिन जानु पर्दथ्यो। कहिले काँही दरवारको सवाँद सचिवालय नामक कार्यालयका कर्मचारीको घरमा समेत जानु पर्दथ्यो। जुन सन्देशमा संवोधन गरिएको प्यारा देशबासी देखि पशुपतिनाथले हामी सबैको कल्याण गरुन भनि उल्लेख गरिएको सबै प्रयोग गर्न नेपाल टेलिभिजन लगायत सबै सरकारी संचार माध्यम बाध्य हुन्थे। तत्कालिन राजा ज्ञानेन्द्रले सक्रिय शासनभार लिएका बेला प्रजातन्त्र दिवसको दिन उनले दिनको सन्देशको पुछारमा रहेको जय नेपाल भन्ने काटेकोमा नेपाल टेलिभिजनका सम्पादकलाई तत्कालिन संचार राज्य मन्त्री शिरिष शमशेर राणाले निवासमै बोलाएर हकारेका थिए।
बिजयादशमीको तत्कालिन राजदरवारमा बिहानदेखिनै चहल पहल हुन्थ्यो। बिहान पहिलो सिफ्टमा राजपरिवारहरुको टिका हुन्थ्यो। त्यसका लागि संचारकर्मीहरु बिहानै सबेरै दरवारमा जानु पर्दथ्यो। सामान्य त कुनै कार्यक्रम हुनुभन्दा २ घण्टा अगाडिनै दरवारको ढोकामा पुग्नु पर्दथ्यो। पोशाक र सुरक्षाको जाँच भैसकेपछी मात्र प्रवेश दिईन्थ्यो। राजदरवार प्रवेश गर्न राष्ट्रिय पोशाक अनिवार्य थियो। तर औपचारिक कार्यक्रमका बेला टोपीदेखि जुत्ता सम्म नमिलेमा पनि फर्काईने गरिन्थ्यो। कालोकोट, कालो टोपी, कालो जुत्ता तथा सेतो लबेदा सुरुवालमा एउटाको रंग अलिकति पनि नमिलेमा संचारकर्मीलाई लज्जित बनाई फर्काईन्थ्यो। यसैगरी दरवारका मानिसले लगेको ठाँउ बाहेक संचारकर्मी दाँयाबाँया जान नहुने बोल्न तथा हाँस्न नहुने बस्न नहुने लगायतका कडा नियमको पालना पनि त्यति सहज थिएन।
टिकाको दिन बिहान दरवारको भित्री बैठकमा तत्कालिन मुमा बडामहारानी रत्नले राजारानीलाई टिका लगाईदिएपछी टिका सुरु हुन्थ्यो। राजपरिवारका सबै परिवारको टिका यँही हुन्थ्यो। त्यसपछी क्रमश शाही नातेदार र साहेबज्यू लगायतको टिका हुन्थ्यो। बिहान टिका थाप्न जानेहरु प्रायलाई जमराको माला लगाईन्थ्यो। अधिंकाश दक्षिणा पाउनेहरु हुन्थे जसको व्यवस्थापनको लागि छुट्टै कर्मचारीहरु खटिएका हुन्थे। दरवारका उच्च पदस्थ कर्मचारीहरुले पनि यहीबेला टिका लगाउने मौका पाउँथे। त्यहाँ समाचार संकलन गर्न गएका पत्रकारहरुलाई पनि टिका लगाईन्थ्यो।
यसैगरी दिउँसो प्रधानमन्त्री, मन्त्रीहरुका साथै जंगीतथा निजामती क्षेत्रका उच्च पदस्थ कर्मचारीहरुले टिका लगाउँथे जसमध्ये केहीले जमराको माला पाउने गर्थे। अपरान्ह सर्वसाधारणका लागि टिका लगाईन्थ्यो। राजा र रानीले बेग्ला बेग्लै स्थानमा टिका लगाईदिने गर्दथे। राजाले राजदरवारको पटाङ्गिनीमा खुल्ला स्थानमा पुरुषहरुलाई तथा रानीले महिलाहरुलाई टिका लगाउने गर्दथे। लाईन बसेकालाई फर्काउने गरिन्नथ्यो। राती करिव ८ बजेसम्म टिका जारी रहन्थ्यो। यसरी टिका लगाउन पर्यटकहरु पनि लाईनमा बस्ने गर्दथे। कतिपय ट्राभल एजेन्सीले आफ्ना अतिथिलाई राजा देखाउने पनि दरवारमा ल्याउँथे। साथै जिल्लाहरुबाट समेत मानिसहरु आउँथे।
बिजया दशमीमा राजदरवारमा नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समितिका साथै गोरखापत्र र सूचना विभागका प्रतिनिधि उपस्थित हुने गर्दथे। यस्तै केही निजी क्षेत्रका फोटोग्राफरको पनि त्यहाँ उपस्थित हुने गरेका थिए। उनिहरुले खिचेको फोटोनै टिका लगाउन गएकाहरुलाई निश्चित शुल्क लिएर उपलब्ध गराईन्थ्यो।
टिकाको दिन दरवारकै समाचारले प्राथमिकता पाउने गर्दथ्यो। नेपाल टेलिभिजनको समाचार बुलेटनमा दरवारकै टिकालाई बढी समय दिईन्थ्यो। पृष्ठभूमिमा मालसिरी धुन बजाएर टिकाको लामो दृय्य देखाईन्थ्यो। राजपरिवारका कसैको दृष्य छुटनु हुदैन्थ्यो। प्रधानमन्त्री मन्त्री लगायत उच्च पदाधिकारीहरु पनि प्राथमिकतामा पर्नेनै भए। यसैगरी दरवारका बरिष्ठदेखि कनिष्ठ तह सम्मका कर्मचारीलाई पनि महत्व दिईन्थ्यो। कुनै पनि महत्वपूर्ण व्यक्तिको दृय्य छुटेमा ठूलो ईस्यू बन्दथ्यो। यसरी टिकामा दरवारमा छाँयाकँन तथा रिपोर्टिङका लागि जाने संचारकर्मीहरुको बिजयादशमीको दिन दरवारकै समाचार व्यवस्थापनमा बडो सतर्कताका साथ सरिक हुने गर्दथे। तर दरवारको व्यवस्थापन राम्रो थिएन। दशैं जस्तो ठूलो पर्वमा आफ्नो निजी दशैं समेत माया मारेर दरवारका लागि खट्टिदाँ पनि औपचारिक रुपबाट धन्यवाद दिने कुनै प्रचलननै थिएन। दशैं जस्तो पर्वको बेलामा बिहान सबेरै देखि दरवारका लागि खटदा पनि सामान्य चियापानी गराउने समेत व्यवस्था थिएन। कतिसम्म भने दरवारमा राजाको छोरीको बिबाहमा उपस्थित सबैले भोज खाँदा पनि संचारकर्मीलाई खानेबेलामा बाहिर पठाईएको तितो यथार्थ यो पङ्तिकारले पनि भोगेको थियो। कतिसम्म भने शौचालय समेत अनुमति बिना जान पाईन्नथ्यो। यसरी दरवारको टिका सम्पन्न गरिसकेपछी मात्र संचारकर्मीले आफ्नो घरमा टिका लगाउन पाउँथे।
मुलुकमा राजनैतिक परिवर्तन पछी परिस्थिति फेरिएको छ। दरवारको टिका राष्ट्रपति निवास र प्रधानमन्त्री निवासमा सरेको छ। तर परिवार बीचको टिका निजी मामिला बन्नु पर्ने विषय हो। यसैगरी सरकारी पदाधिकारी र कर्मचारीलाई टिका थाप्नु पर्ने बाध्यता श्रृजनाका लागि मुलुकमा गणतन्त्र आएको होईन। यसैगरी यसैगरी देशकै ठूलो पर्व सबैले मनाउन पाउनु पर्छ। अमेरिकाका राष्ट्रपतिले पनि प्रत्येक नयाँ वर्षमा बिदा बसेर परिवारका साथ छुट्टी मनाउने गर्दछन। साभार ः नेपाल न्युज