बाँके । कहिल्यै छोरीलाई विद्यालय पठाउने कल्पना पनि नगरिएको समाजमा आज परिवर्तनको बलियो कहानी लेखिँदैछ । बाँकेको नेपालगञ्जसँगै जोडिएको जानकी गाउँपालिकामा केही वर्षअघिसम्म मधेशी र मुस्लिम समुदायका अधिकांश अभिभावकहरू छोरीलाई शिक्षाबाट टाढै राख्थे । घरभित्र सीमित जीवन, छिट्टै विवाह, र शिक्षाप्रति उदासीनता यिनै यथार्थ थिए ।
तर समय बदलियो । स्थानीय तहको स्थापना संगै चेतनाको लहर फैलियो । “छोरी पनि पढ्नुपर्छ” भन्ने सोच विस्तारै समाजमा जरा गाड्न थाल्यो । यही सोचलाई संस्थागत रूप दिन गाउँपालिकाले ऐतिहासिक कदम चाल्यो छात्रा मात्र अध्ययन गर्ने कन्या विद्यालय स्थापना ।
गाउँपालिका अध्यक्ष छब्बन खाँ, प्रवक्ता टिकानाथ यादव र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीको पहलमा २०७९ भदौ २६ गते जानकी–३ मानपुरमा कन्या विद्यालय स्थापना भयो । यो निर्णय केवल एउटा विद्यालय खोल्ने निर्णय थिएन, यो सोच परिवर्तनको घोषणा थियो ।
अध्यक्ष खाँले भने “आज कन्या विद्यालयमा देखिएको उत्साहले हामीलाई अझ जिम्मेवार बनाएको छ । अब हाम्रो लक्ष्य यसलाई गुणस्तरीय, प्रविधिमैत्री र सीपमूलक शिक्षाको केन्द्र बनाउने हो ।”
“स्थानीय तहले सुरुवात ग¥यो, तर यसलाई दिगो र प्रभावकारी बनाउन संघीय र प्रदेश सरकारको साथ अपरिहार्य छ । कन्या विद्यालयहरूमा गरिएको लगानीले दीर्घकालमा समाज र देशकै भविष्य निर्माण गर्छ।” अध्यक्ष खाँको भनाई छ ।
अध्यक्षले भने“छोरीको हातमा किताब पुगेपछि मात्र समाजको भाग्य बदलिन्छ। त्यसैले हामीले सुरु गरेको यो अभियान अब रोकिने छैन, अझ फैलिँदै जानेछ ।”
शिक्षा शाखाकी सहायक अधिकृत झुमा कुमारी वली भन्छिन्,“अभिभावकहरू छोरीलाई पढाउन चाहन्थे, तर सुरक्षित र छुट्टै वातावरण खोजिरहेका थिए । कन्या विद्यालयले त्यो आवश्यकता पूरा गर्यो ।”
परिवर्तनको सुरुआतः डरबाट विश्वाससम्म
पहिला छोरीलाई छोरासँगै विद्यालय पठाउँदा बिग्रिन्छन् भन्ने मान्यता गहिरो थियो । तर अहिले अवस्था उल्टिएको छ । कन्या विद्यालयमा छात्रा मात्र पढ्ने र शिक्षिका मात्र पढाउने व्यवस्था भएपछि अभिभावकहरू ढुक्क भएका छन् ।
स्थानीय शियाराम यादव भन्छन्,“पहिला छोरीलाई विद्यालय पठाउन डर लाग्थ्यो, अहिले भने हामी आफैंले पठाउन प्रेरित गरिरहेका छौँ ।”
शुरुआती चरणमा २५० छात्राबाट सुरु भएको विद्यालयमा अहिले ५०० भन्दा बढी छात्रा अध्ययनरत छन् । विद्यालयलाई २०८३ सालदेखि माध्यमिक तहसम्म स्तरोन्नति गरिएपछि भर्नाका लागि दैनिक जसो भीड लाग्ने गरेको छ ।
छोरीको शिक्षाः सामाजिक सोचको पुनर्जन्म
शिक्षा शाखा प्रमुख कृष्णा कुमारी भण्डारीका अनुसार,“यो विद्यालय छोरीले पनि छोरा सरह शिक्षा पाउनुपर्छ भन्ने सोचसँग लडेर स्थापना गरिएको हो ।”
विद्यालय स्थापना भएपछि केवल छात्राहरूको संख्या मात्र बढेको छैन, समाजको सोचमा समेत व्यापक परिवर्तन आएको छ । आज जानकीमा छोरीलाई पढाउनु ‘गर्व’को विषय बन्दै गएको छ ।
प्रधानाध्यापक मालती कुमारी शाही, जसले सुरुदेखि विद्यालयको नेतृत्व गरिरहनुभएको छ, भन्नुहुन्छ,“छात्राहरू यहाँ डर र त्रासबिना पढिरहेका छन्। उनीहरूको आत्मविश्वास नै सबैभन्दा ठूलो उपलब्धि हो ।”
शिक्षामा गुणस्तर र प्रतिस्पर्धा
कन्या विद्यालय स्थापना भएपछि अन्य विद्यालयहरूमा समेत शैक्षिक प्रतिस्पर्धा बढेको छ । महिला नेतृत्वमा सञ्चालन भइरहेको यस विद्यालयले अनुशासन, शान्त वातावरण र गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायका अनुसार,“अब हामी थप बस सेवा सञ्चालन गरेर टाढाका छात्रालाई समेत पहुँचमा ल्याउने योजना बनाइरहेका छौँ। यसले अझ धेरै छोरीहरूलाई विद्यालयमा ल्याउनेछ ।”
अबको चुनौतीः गुणस्तर, सीप र रोजगारी
शिक्षा केवल अक्षर चिन्ने माध्यम मात्र होइन, जीवन निर्माणको आधार पनि हो । वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारी भन्छन्,“अब शिक्षा प्रणालीलाई रोजगारीसँग जोड्नुपर्छ । डिजिटल साक्षरता, उद्यमशीलता, कृषि र पर्यटन जस्ता सीप विद्यालयमै सिकाइनुपर्छ ।”
उनका अनुसार, कन्या विद्यालय जस्ता संस्थाले यदि नयाँ सीपमूलक कार्यक्रम सञ्चालन गर्न सके, छात्राहरूको आकर्षण झनै बढ्नेछ र उनीहरू आत्मनिर्भर बन्ने बाटो खुल्नेछ ।
गाँउपालिकका प्रवक्ता टिकानाथ यादवले भने“हामीले कन्या विद्यालय खोल्ने निर्णय गर्दा धेरैले शंका गरेका थिए । छोरीहरू आउँछन् त ? अभिभावकले पठाउँछन् त ? तर आज त्यही विद्यालयमा भर्नाका लागि लाइन लागिरहेको छ ।,”
उनले, “यो केवल विद्यालय होइन, यो सोच परिवर्तनको आन्दोलन हो । हिजो छोरीलाई घरभित्र सीमित राख्ने समाज आज उनीहरूको भविष्य बनाउन अगाडि बढेको छ । जब अभिभावकले ‘छोरी पनि पढ्नैपर्छ’ भन्ने बुझ्न थाले, तब हामीले लिएको निर्णय सही थियो भन्ने पुष्टि भयो ।”
यादवका अनुसार अब चुनौती केवल विद्यालय खोल्ने होइन, गुणस्तरीय र जीवनोपयोगी शिक्षा दिनु हो । “राज्यले यस्ता कन्या विद्यालयमा विशेष लगानी गर्नुपर्छ । सुरक्षित वातावरण, प्रविधिमैत्री शिक्षा र सीपमूलक तालिमसँग जोड्न सके, यी छोरीहरू भोलिका आत्मनिर्भर नागरिक बन्न सक्छन् ।,”
अन्त्यमा भावुक हुँदै प्रवक्ता यादवले भने,“छोरी पढेपछि केवल एउटा परिवार होइन, पूरै समाज शिक्षित हुन्छ । त्यसैले कन्या विद्यालयमा गरिएको लगानी भविष्यमा देश निर्माणकै लगानी हो ।”
सामाजिक विकास समितिका सदस्य राम अचल धोबी भन्छन्,“कन्या विद्यालयले हाम्रो समाजमा देखिएको परिवर्तन साँच्चिकै ऐतिहासिक छ । हिजोसम्म छोरीलाई विद्यालय पठाउन हिच्किचाउने अभिभावक आज आफैं अघि सरेका छन् । यो परिवर्तन सजिलै आएको होइन, यो चेतना, विश्वास र निरन्तर प्रयासको परिणाम हो । अब हाम्रो जिम्मेवारी केवल विद्यालय सञ्चालनमा सीमित छैन, यसलाई गुणस्तरीय र सीपमूलक शिक्षाको नमूना केन्द्र बनाउनु हो । राज्यले यस्ता सफल पहललाई प्राथमिकतामा राखेर लगानी गरेमा यो मोडेल देशभर विस्तार गर्न सकिन्छ र छोरी शिक्षामा ठूलो फड्को मार्न सकिन्छ ।”
राज्यको भूमिकाः अब लगानी आवश्यक
स्थानीय प्रयासले सुरु भएको यो अभियानलाई अब राज्यको साथ आवश्यक देखिन्छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रताप सिंह भन्छन्,“हामी यसलाई शैक्षिक हब बनाउने लक्ष्यमा छौँ, तर त्यसका लागि पर्याप्त बजेट र पूर्वाधार चाहिन्छ ।”
कन्या विद्यालय जस्तो सफल मोडेललाई विस्तार गर्न राज्यले दीर्घकालीन लगानी गर्नुपर्ने आवश्यकता स्पष्ट देखिन्छ । यदि यस्ता विद्यालयहरूलाई प्रविधिमैत्री, सीपमूलक र गुणस्तरीय शिक्षाको केन्द्र बनाउन सकियो भने, यसले देशभर छोरी शिक्षामा ठूलो परिवर्तन ल्याउन सक्छ ।
परिवर्तनको उज्यालो फैलिँदै
जानकी गाउँपालिकाको कन्या विद्यालय केवल एउटा शैक्षिक संस्था होइन—यो सामाजिक क्रान्तिको प्रतीक हो ।
जहाँ कहिल्यै छोरीलाई घरबाट बाहिर निस्कन नदिने समाज थियो, त्यही समाज आज छोरीको भविष्य निर्माणमा अग्रसर छ । यो कथा केवल जानकीको मात्र होइन, यो सन्देश देशभरका लागि हो । छोरीलाई अवसर दिए, उनीहरूले समाज नै बदल्न सक्छन् भन्ने जानकीको कन्याले उदाहरण प्रस्तुत गरीरहेको छ ।
