बाँके २० बैशाख । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमाले हाँगा बिनाको पार्टी भएको टिप्पणी गर्नु भएको छ ।
पार्टीको ८ औं बाँके जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले एमालेभित्र केपी ओलीपछि नेताहरुको खडेरी रहेको बताउनु भयो ।
‘हाँगा बिनाको नेता केपी ओली मात्र छन्, जिउँदो एमाले कोही छैन,’ उनले भने ‘एक हजार भेडाको बथानमा एक जना मान्छे लौरो लिएर उभिएको छ।’ कुनै बेला थुप्रै नेता जन्माएको एमालेभित्र अहिले नेता भेटाउन गाह्रो भएको बताउनु भयो ।
केपी ओली प्रधानमन्त्री हुनु नै देशका लागि दुर्दशा भएको उहाँको भनाइ थियो। अर्को प्रसङ्गमा गणतन्त्रमा कर्मचारी भ्रष्ट भएको र कर्मचारी भन्दा ठुला भ्रष्टहरू राजनीति गर्ने व्यक्ति रहेको महासचिव भुसालले जिकिर गर्नु भयो ।
नेपाली कांग्रेस पार्टीले देश बनाउँछ भनेर कोही नेता नभनेको भन्दै उहाँले भन्नुभयो, ‘पुलिसले नसमात्दा सम्म र अदालतले फैसला नगर्दा सम्म कांग्रेस भ्रष्ट हुँदैन।’ माओवादी पार्टीको सिद्धान्त एउटा, तर काम भने अर्कै गर्ने गरेको टिप्पणी गर्नु भयो ।
२०७२ सालको संविधानलाई सन्तुलित बनाइएको भन्दै संविधानले यो हिन्दुहरूको राज्य होईन भनेर कतै नभनेको उल्लेख गर्नु भयो । २०८४ को निर्वाचन एमाले पार्टीले सोचेको जस्तो सहज नहुने महासचिव भुसालको भनाई छ। उहाँले भन्नुभयो,‘मिसन २०८४ बर्बादको हुनेछ, उथल–पुथलको ८४ हुनेछ ।,’