बाँके । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, भयरहित र व्यवस्थित रूपमा सम्पन्न गराउन बाँके क्षेत्र नं. २ मा सुरक्षा सतर्कता उच्च बनाइएको छ। निर्वाचन सुरक्षा समितिको टोलीले सीमा क्षेत्रदेखि विभिन्न मतदानस्थलसम्म स्थलगत निरीक्षण गर्दै सुरक्षा अवस्थाको अनुगमन गरेको छ।
अनुगमन टोलीको नेतृत्व बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले नेतृत्व गर्नुभएको छ । टोलीमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक अंगुर जिसी, सशस्त्र प्रहरी उपरीक्षक भिम चन्द, नेपाली सेनाका बज्र दलका प्रमुख सेनानी राम चन्द्र श्रेष्ठ तथा राष्ट्रिय अनुसन्धान विभाग बाँकेका प्रमुख हरिष बहादुर बिष्ट लगायत सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी रहनु भएको थियो ।
टोलीले सीमा क्षेत्र तथा संवेदनशील मतदानस्थलको सुरक्षा अवस्था, कर्मचारी परिचालन र आवश्यक समन्वयबारे स्थलगत जानकारी लिएको हो।
मध्यरातदेखि सीमा सिल
निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि सीमा नाका सिल गरिएको छ। अत्यावश्यक सेवासँग सम्बन्धित आवागमनबाहेक अन्य आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ। मतदान केन्द्रहरूमा कर्मचारी तथा सुरक्षा निकाय पुगिसकेका छन् र तयारीलाई तीव्र पारिएको छ ।
सर्वपक्षीय बैठकबाट ११ बुँदे निर्णय
यसैक्रममा नेपालगञ्ज–१४ भवानीयापुरस्थित महेन्द्र माध्यमिक विद्यालयको मतदान केन्द्रमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। मतदान अधिकृत कर्मध्वज छत्यालका अनुसार निर्वाचन सफल बनाउन राजनीतिक दलहरूले साझा प्रतिबद्धता जनाएका छन् ।
बैठकमा मतदान प्रक्रिया भयरहित वातावरणमा सम्पन्न गर्न ११ बुँदे निर्णय गरिएको (ग) मतदान केन्द्रका मतदान अधिकृत धन बहादुर शाहीले जानकारी दिनुभयो ।
उक्त क्षेत्रमा बरिष्ठ प्रहरी नायब निरीक्षक मोहम्मद तकि खाँको नेतृत्वमा चार वटा मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना व्यापक रूपमा परिचालन गरिएको छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा बाँकेमा सुरक्षा संयन्त्र पूर्ण सतर्कताका साथ तयारीमा जुटेको देखिन्छ । प्रशासनले शान्तिपूर्ण र निष्पक्ष निर्वाचनका लागि सबै पक्षसँग सहकार्य गर्न आह्वान गरेको छ।