सिराज खान
नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रही नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमित आमाबुवाबाट संक्रमणमुक्त बालबालिका जन्मिरहेका छन् ।
एचआइभी संक्रमित आमाबुवाबाट संक्रमणमुक्त शिशु जन्मन थालेपछि संक्रमित आमाबुवाको खुशीको सीमा छैन । उनीहरु निकै उत्साहित भएका छन् । भेरी अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रही नियमित औषधि सेवन गरिरहेका संक्रमित आमाबुवाबाट जन्मिएका बालबालिका एचआइभी संक्रमणमुक्त रहेको पाइएको अस्पतालले जनाएको छ ।
भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले चिकित्सकको निगरानीमा गर्भावस्थाबाटै नियमित औषधि सेवन गरिरहेका संक्रमितको संक्रमणमुक्त शिशु जन्मिरहेको बताउनुभयो ।
उहाँले भेरी अस्पतालको रोग प्रतिरोधक क्षमता अभिवृद्धि केन्द्र (एआरटी सेन्टर) मा नियमित औषधि सेवन गर्दैआएका संक्रमित आमाबुवाले जन्माएका शिशुहरू एचआइभी संक्रमणमुक्त रहेको बताउनुभयो ।
रिता केसी (नाम परिवर्तन) एचआइभी संक्रमित हुनुहुन्छ । उहाँका चार छोरी छन् । ती मध्ये तीन जनामा एचआइभी संक्रमण छ । तर कान्छी छोरी भने संक्रमणमुक्त जन्मिइन् ।
चिकित्सकको निगरानीमा गर्भावस्थाबाटै नियमित औषधि खाएपछि उहाँकी कान्छी छोरी स्वस्थ जन्मिनुभएको डा. रिसालले बताउनुभयो । डा. रिसालका अनुसार रिताको छोरी मात्र होइन संक्रमित आमाबुवाबाट जन्मिएका अन्य बालबालिका पनि संक्रमणमुक्त छन् । चिकित्सकको सल्लाहअनुसार नियमित एआरटी सेवा लिएका संक्रमितले जन्माएका धेरै बच्चामा एचआइभी संक्रमण नेगेटिभ देखिनेगरेको छ ।
भेरी अस्पतालका अनुसार पछिल्लो डेढ वर्ष यता संक्रमितबाट जन्मेका १८ महिनाभन्दा कम उमेरका ६ जना शिशु पूर्ण स्वस्थ र संक्रमणमुक्त छन् । भेरी अस्पतालमा २०६२ फागुनमा एआरटी सेवा सुरु भएको थियो । एआरटी युनिटमा अहिले नेपाली र भारतीय गरी ५७० जना संक्रमित उपचारका लागि नियमित आउनेगरेको सो अस्पतालले जनाएको छ । साभार: गोरखा पत्र