काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले चिनियाँ राजदूत छन् सोङले सिमलतालमा त्रिशूली नदीमा खसेको बसका सम्बन्धमा कूटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् ।
चितवनको सिमलतालबाट त्रिशुलीमा खसेर हराएका दुईवटा बस खोजीलाई लिएर चिनियाँ राजदूतले सामाजिक सञ्जाल एक्समा लेखेको स्टाटसप्रति खानले आपत्ति प्रकट गरेका हुन् ।
मानवीय संवेदनाका विषयमा हँसीमजाक नगर्न उनले राजदूतलाई आग्रह गरेका छन् ।
मंगलबार सांसद खानले प्रतिनिधिसभा बैठकमा चिनियाँ राजदूतको नाम नलिई छिमेकी मित्रराष्ट्रका राजदूतले कूटनीतिक मर्यादा र आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै निन्दा गरेका थिए । कमसे कम नेपाललाई आपत पर्दा सहयोग गरौं, मानवीय संवेदननाबारे बोलौं, अप्ठेरो परेका बेला हाँसीमजाकमा नउडाऔं भनेर अनुरोध गर्न चाहन्छु’, सांसद खानको भनाई थियो ।
बेपत्ता बस र यात्रुहरुको खोजी गर्न नेपाल सरकारले भारत सरकारलाई पत्राचार गरेसँगै भारतले नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली नेपाल पठाएको थियो । उक्त टोलीले ल्याएको पानीमुनि खोजतलासमा प्रयोग हुने सेट अन्तर्गतको १९ किलोको चुम्बक शनिबार खोजी गर्ने क्रममा हराएको थियो ।
उक्त टोलीले १९ र १४ किलोको दुई चुम्बक ल्याएमध्ये १९ किलोको चुम्बक खोजतलासका क्रममा हराएको थियो।
चिनियाँ राजदूतले भने आफ्नो भनाइ अझ स्पष्ट पार्दै अर्को कमेन्ट लेखेका छन् जसमा उनले भनेका छन्-
कतिपय व्यक्तिले कमेन्ट गर्नु अनुपयुक्त भनी तर्क गरेका छन्। मेरो जवाफ- कमेन्टमा के गल्ती छ? खोजीकार्य सबै माध्यमद्वारा अगाडि बढाउनु पर्दैन? यदि खोजीकार्यलाई गति दिन चुम्बक चाहियो भने चुम्बक फेला पार्नुपर्छ। एउटा चुम्बक हराउँदैमा किन खोजी कार्य नै अन्त्य भएको मानिसहरु सोच्दै छन् ? उनले अर्को पोस्टमा खोजी टिमलाई शुभकामना पनि दिएका छन् ।
गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए।
ती बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए। ती दुई बससँगै अधिकांश यात्रुको अवस्था अझै पत्ता लाग्न सकेको छैन।