काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो ७१६ ग्राम सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबिले) ले एक जना अधिकृतलाई भारतमा पठाउने भएको छ ।
सूचना संकलनका लागी एकजना उच्च अधिकृतलाई बिहिबार नै भारत पठाउने तयारी भइरहेको सिआइबिले जनाएको छ ।हङकङबाट काठमाडौँ ल्याएर तस्करले भारतमा सुन पठाउने गरेको अनुसन्धानबाट देखिएपछि भारतमा सुन ‘रिसिभ’ गर्ने समूहको अनुसन्धानका लागि भारतमा पठाउन लागिएको हो ।
भारतमा गएर ती अधिकृतले नयाँ ‘इन्टरपोल भारत’ सँग समन्वय गरेर सूचना संकलन गर्नेछन् । दिल्लीस्थित नेपाली राजदूतावासका कन्सुलर प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीलाई पनि सुन प्रकरणको अनुसन्धान टिममा सामेल गरिएको छ । चतुर्वेदीले भारतबाटै अनुसन्धानमा सघाइरहेका छन् ।
चतुर्वेदीसँग समन्वय गरेर ब्यूरोले सुन तस्करीमा संलग्न आरोपित किशोर बस्नेतलाई बुधबार पक्राउ गरी काठमाडौँ ल्याएको छ । सोही सुन तस्करी प्रकरणको सूचना संकलनका लागि सीआईबीले प्रहरी बरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको छ ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समन्वयमा एसएसपी आचार्य भदौ १२ गते हङकङ गएका हुन् । हङकङबाट ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ मा लुकाएर ल्याएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो ।