काठमाडौँ । सरकारले सरकारी सेवा लिनका लागि नागरिकतासँगै राष्ट्रिय परिचय पत्र समेत प्रचलनमा ल्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले केही सेवाहरूमा राष्ट्रिय परिचयपत्रबाट समेत सेवा लिन सकिने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
मन्त्री शर्माले नागरिकताको प्रमाणपत्र प्रयोग हुने सबै क्षेत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको तयारी रहे पनि पहिलो चरणमा परीक्षणका रुपमा केही क्षेत्रमा मात्र राष्ट्रिय परिचयपत्र प्रयोगमा ल्याउन लागेको बताउनुभयो ।
सञ्चार मन्त्री शर्माले दिनुभएको जानकारी अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८१ स्वीकृत गर्ने, ज्येष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने, राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा डा.रमेशप्रसाद सिंहलाई नियुक्त गर्ने लगायतका निर्णयहरू गरेको छ ।