नेपालगञ्ज । श्री बालशिक्षा माध्यमिक विद्यालय भरैयामा लुम्बिनी वार्ल्ड पिस फोरमका अध्यक्ष बासु गौतमज्यूको अगुवाइमा ज्योति बिकास बैंकको आर्थिक सहयोग र 8 Billion Trees को सहकार्यमा २५० भन्दा बढी अमला, कटहर , अम्बा सितलचिनी र कागतिको बिरुवा लगाइएको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आदरणीय तर्क खत्री सरको अनुरोधमा हरित हेमन्त विद्यालयमा बिरुवा लगाउन आउनु भएको थियो। उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, ज्योति बैंकका कर्मचारी तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो।
यस अवसरमा 8 Billion Trees का नेपाल Planting Director ले बिरुवाको महत्त्वबारे विशेष जोड दिनुभयो। उहाँले विशेषगरी फलफूलका रुखहरू दिनप्रतिदिन मासिँदै गएको र त्यसलाई जोगाउन वृक्षारोपण अपरिहार्य भएको बताउनुभयो। साथै, पढ्दै कमाउँदै विद्यालय अभियान लाई पनि आर्थिक सहयोग गर्दै विद्यार्थीलाई आत्मनिर्भर र वातावरणमैत्री जीवनशैलीतर्फ उन्मुख गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो।
अध्यक्ष बासु गौतमले बिरुवा रोपण केवल वातावरणीय संरक्षणका लागि मात्र नभई भावी पुस्तामा हरियाली र स्वच्छ जीवनशैलीको सन्देश प्रवाह गर्ने अभियान भएको बताउनुभयो।
त्यसैगरी, ज्योति बिकास बैंकका क्लस्टर हेड मनोज भण्डारीले “रुख लगाउने मात्र होइन, जोगाउनु ठूलो कुरा हो। अहिलेको वातावरण प्रदूषण र ग्लोबल वार्मिङको बेला चाहिँ वृक्षारोपण अत्यन्तै जरुरी छ,” भन्ने विचार व्यक्त गर्नुभयो।
प्रधानाध्यापक खत्रीले विद्यार्थीलाई वातावरणमैत्री आचरण सिकाउन यस किसिमका कार्यक्रमले ठूलो प्रेरणा दिने उल्लेख गर्नुभयो।
यस अवसरमा सहभागीले विद्यालयलाई हराभरा बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।