बाँके । बाँकेको नेपालगन्जमा धार्मिक सद्भाव कायम गरिराख्न सामाजिक सदभाव समितिका संयोजक गुलाम हुसेन हल्वाईले आग्रह गरेका छन् ।
मुस्लिम समूदायको तर्फबाट सदभाव समितिको नेतृत्व गरीरहेका हल्वाईले कुनै पनि असंवैधानिक तथा गैरकानुनी क्रियाकलापमा कोही पनि सहभागी नहुन र धार्मिक, सामाजिक एवं सांस्कृतिक सद्भाव प्रवर्द्धनमा क्रियाशील रहन आह्वान गरेका छन् । कतिपय ठाउँमा उच्छृंखल तथा अराजकरूपमा प्रस्तुत भई फरक धर्म सम्प्रदायको आस्था, व्यवहार, संस्कार र प्रचलनमा आघात पु¥याउने गतिविधि देखा परेकोमा संयोजक हल्वाईले चिन्ता व्यक्त गरेका छन् ।
सदभाव समितिका सदस्य मुस्लिम अगुवा मोहम्मद हारुन हल्वाईले नेपालको इतिहास, परम्परा र विगतदेखि नै एक आपसमा मिलिजुली बस्ने सद्भावपूर्ण समाजलाई विथोल्ने गरी धर्म तथा सम्प्रदायका नाममा हुने असंवैधानिक तथा गैरकानुनी क्रियाकलापप्रति असहमति प्रकट गरेका छन् । हल्वाईले नेपाल एक सार्वभौमसत्ता सम्पन्न बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देश भएको र कुनैपनि धर्म, सम्प्रदाय, जाति, क्षेत्र एवं लिंगको आपसी सम्मान अभिवृद्धि गर्नु, आपसी सद्भाव कायम गर्नु धार्मिक संस्कार रहेको उल्लेख छ ।
अधिकारकर्मी आलम खानले अर्को धर्म सम्प्रदायप्रति घृणा द्वेष फैलिने कुनै पनि कार्य नगर्नु, अर्को धर्म सम्प्रदायको आत्मसम्मानमा चोट पुग्ने कुनै पनि गतिविधि नगर्नु धार्मिक मान्यता रहेको स्मरण गराएका छन् । केही दिनयता बाँकेको विभिन्न भागमा धर्म, जाति, सम्प्रदायको आधारमा एक अर्काप्रति घृणा र द्वेष फैलाउने, फरक धर्म, जाति तथा सम्प्रदायलाई चोट पुग्ने गरी गतिविधि भइरहेकामा धार्मिक खानको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्
मुस्लिम धर्म गुरु मौलाना अब्दुल जब्बार मन्जरीले धार्मिक सद्भाव खल्बल्याउने गतिविधि देखापरेकामा चिन्ता व्यक्त गरेका थिए । विश्वकै मौलिक धार्मिक सहिष्णुता भएको नेपालमा निहित उद्देश्यका निम्ति कतिपयले धार्मिक उद्दण्डता देखाएर परिस्थिति भड्काउन खोजेको हुनसक्ने जनाउँदै उनले त्यस्ता घटनाको प्रशासनिकभन्दा पनि समुदायगत समाधान दीर्घकालीन र प्रभावकारी हुने बताए । मुलुकको एकता र सार्वभौमिकताका लागि धार्मिक एवम् सामुदायिक एकता अपरिहार्य भएको र अगुवाहरूको पहलले समुदायमा सचेतता फैलिने विश्वास समेत उनले व्यक्त गरे ।