प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरी प्रभावकारी प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ ।
८ जेठ २०८२, बुधवार
बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरी प्रभावकारी प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ ।
आज बुधवार निरीक्षण भ्रमणको क्रममा उहाँले जिल्ला प्रहरी कार्यालय बाँकेमा रहेका बिभिन्न शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण पश्चात जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत इकाई प्रमुखहरु सहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको हो ।
निर्देशनको क्रममा उहाँले सुरक्षा सदैव संबेदनशिल बिषय भएकोले आफुलाई सुम्पिएको जिम्वेवारी चुस्त दुरुस्त अवस्थामा अनुशासित तवरले विश्राम नलिई आफ्नो पदिय दायित्व निर्वाह गर्न र समाजलाई जीवन्त राख्न ईमान्दारीताका साथ प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ ।
सम्पुर्ण प्रहरी कर्मचारीहरुले प्रहरी कार्यसम्पादन सम्झौता बमोजिम नतिजामुलक कार्य गरी सदैव प्रहरी संगठनको गरीमालाई उच्च बनाउन जोड दिनुका साथै हामीले प्रवाह गर्ने सेवा नागरिकको मन जित्ने गरी प्रभावकारीरुपमा प्रदान गर्न जरुरी रहेको बताउनु भएको छ ।
हाम्रा अग्रज प्रहरीले हामीलाई दुख गरेर सुम्पिएको जिम्मेवारी हामीले उत्कृष्ट तवरले निर्वाह गरी हाम्रा अनोज प्रहरीहरुलाई पनि अनुशासित, संगठित, भातृत्वभावयुक्त तथा असल अभ्यासका साथ जिम्मेवारी सुम्पिन कटिवद्ध रहनु पर्ने जिकिर गर्नुभयो ।
उहाँले प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान तथा आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, पेण्डिङ्ग मुद्दाको सफल अनुसन्धान गर्न र सीमा क्षेत्रबाट हुने अवैध चोरी निकासी नियन्त्रण, लागु औषध ओसार पसार नियन्त्रण, स्थानियबासीहरुसंग समन्वय गरी सुरक्षा व्यवस्थालाई मजवुद बनाउन तथा आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न निर्दशन दिनु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगरले प्रमुख जिल्ला अधिकारी जोशीलाई जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ती व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु र जिल्ला प्रशासन कार्यालय बाँके संगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी संगै निरिक्षणमा सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी लगायतको सहभागिता रहेको थियो । 