बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई मानव अधिकार, सुशासन र नागरिक मैत्री प्रशासनिक सेवाको प्रवर्द्धनमा पुर्याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रले “मानव अधिकारमैत्री सेवा सम्मान–२०८२” प्रदान गरेको छ ।
मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरिपप) बाँकेले आयोजना गरेको विशेष समारोहमा सिडियो जोशीलाई सम्मान पत्र प्रदान गरिएको हो । कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
‘निष्पक्ष नेतृत्व र सहिष्णु दृष्टिकोणको उदाहरण’
सम्मान पत्रमा भनिएको छ-“मानव अधिकार, सुशासन तथा नागरिक मैत्री प्रशासनिक सेवाको प्रवर्द्धनमा पुर्याउनुभएको उल्लेखनीय योगदानको उच्च प्रशंसा गर्दै
‘मानव अधिकारमैत्री सेवा सम्मान–२०८२’
प्रदान गरिन्छ।”
सम्मान पत्रमा जोशीको निष्पक्ष नेतृत्व, सहिष्णु दृष्टिकोण र जनउत्तरदायी सेवाभावले बाँके जिल्लामा मानव अधिकार, सुशासन र सामाजिक न्यायको प्रत्याभूति दिलाउन उल्लेखनीय योगदान पुर्याएको उल्लेख गरिएको छ ।
साथै, केन्द्रले जोशीको सकारात्मक भूमिकाप्रति हार्दिक सम्मान व्यक्त गर्दै आगामी दिनमा पनि उहाँको नेतृत्व मानव अधिकार र नागरिक सेवाको प्रवर्द्धनमा प्रेरणादायी रहिरहने विश्वास व्यक्त गरेको छ ।
अध्यक्ष आलम खानले ‘जोशीको कार्यशैली नै मानव अधिकारमैत्री प्रशासनको प्रतीक’ भएको औल्याउनु भयो ।
उहाँले भन्नुभयो,“जोशीज्यूको निष्पक्ष, संयमित र नागरिकमुखी नेतृत्वले बाँकेमा सुशासन र जवाफदेहिताको वातावरण निर्माण गरेको छ,” उहाँले भन्नुभयो, “यस्तो नेतृत्व नै मानव अधिकारमैत्री समाज निर्माणको आधार हो ।”
सम्मान पत्र प्रदान गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले मानब अधिकार मैत्री समाज निर्माण गर्नका लागि प्रजिअ जोशीले खेल्नु भएको भुमिका उदाहरणीय रहेको बताउदै प्रजिअ जोशीलाई बधाई दिनु भएको थियो ।
प्रजिअ जोशीले भन्नुभयो,‘जनताको हितमा विवेकले ठानेको बाटोमा हिँडेँ’ उहाँले भन्नुभयो, बाँकेको कार्यकाललाई “अविस्मरणीय र सन्तोषप्रद” बताउँदै भन्नुभयो,“मैले बाँकेमा रहँदा ‘सिर झुकाएर हिँड्नुपर्ने’ कुनै काम गरेको छैन । विवेकले ठानेको सही बाटोमै हिँडेँ र जनताको हितमा निर्णय गरें ।”
उहाँले बाँकेमा प्राप्त सद्भाव र सहयोगका लागि आभार व्यक्त गर्दै नयाँ कार्यक्षेत्र उदयपुरमा पनि सुशासन र मानव अधिकारमुखी सेवाको निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।