बाँके । नेपाल पत्रकार महासङ्घ बाँके शाखाको १४ औँ साधारणसभा एवं अधिवेशन शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले गर्नुभएको थियो ।

सो अवसरमा नगर प्रमुख बिष्टले जिल्लाको सञ्चार माध्यमको प्रवर्द्धनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । जिल्लाका सञ्चार माध्यमलाई विगतदेखि नै पालिकाले सहयोग गर्दै आएको र भविष्यमा पनि त्यसलाई निरन्तरता दिइने बिष्टले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य एवं प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले नेपालका ठूला सञ्चार माध्यमका लगानीको पारदर्शीता खोजी गरिने बताउनुभयो । केसीले वर्षौँसम्म आम्दानी गर्ने तर श्रमजीवी पत्रकारलाई तलब नदिने सञ्चार माध्यमको पारदर्शीता खोजी गरिने उहाँले बताउनुभयो । प्यारासुटका माध्यमबाट सदस्यता दिनु गलत कार्य भएको भन्दै केसीले व्यावसायिक पत्रकारिता गर्नेहरुको सदस्यता कायम गरी निर्वाचन गर्न आग्रह गर्नुभयो ।

महासङ्घ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपाल पत्रकार महासङ्घका लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्रदेश सचिव शिव सुनार, पूर्व अध्यक्ष निरज गौतम, रुद्र सुबेदी लगायतले पत्रकारिता क्षेत्रका बारेमा धारणा राख्नुभएको थियो ।