बाँके । प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाँकेले जिल्लाभर चुनावी अभियानलाई तीव्र बनाएको छ। यही क्रमअन्तर्गत बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा राजकुमार बिकको संयोजकत्वमा ५५१ सदस्यीय विशाल प्रचारप्रसार समिति गठन गरिएको छ ।
नेकपाका अनुसार बाँके ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक जी.एम.लाई विजयी गराउने लक्ष्यसहित राजकुमार बिकको चुनावी कमान्डमा आईटी तथा प्रचारप्रसार संयोजक सुशील लामिछानेको संयोजकत्वमा ५१ सदस्यीय विशेष कमिटी समेत निर्माण गरिएको छ । उक्त कमिटीले डिजिटल अभियान, सूचना प्रवाह र जनसम्पर्कलाई थप सशक्त बनाउने पार्टी सहसंयोजक कुशल दर्लामीले बताउनुभयो ।
पार्टीले बाँके क्षेत्र नम्बर १ बाट उम्मेदवार नरेन्द्र पाण्डे ‘जेम्स’, क्षेत्र नम्बर २ बाट उम्मेदवार दिपेन्द्र बिष्ट र क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका दीपक जी.एम. लाई विजयी गराउने अभियानलाई एकसाथ अघि बढाइएको जनाएको छ । साथै बाँके जिल्लाबाट प्रतिनिधि सभा समानुपातिक उम्मेदवार मञ्जु कोईराला, जामिया खातुन र काली मिया कस्मिरालाई निर्वाचित गराउन पार्टीका नेता–कार्यकर्ता, जनवर्गीय संगठन, पार्टी सदस्य तथा आम नागरिकलाई एकताबद्ध भएर लाग्न बाँके ३ का चुनावी कमान्डर बिकले अपिल गर्नु भयो ।
संयोजक बिकका अनुसार जी.एम. स्वच्छ छवि भएका, इमान्दार, कर्मठ तथा स्थानीय हावापानी र जनभावना राम्ररी बुझेका युवा उम्मेदवार भएकाले बाँके ३ का जनताका लागि वर्तमान अवस्थामा उपयुक्त विकल्प बनेका छन् ।
नेकपाले घरदैलो अभियान, जनसभा, डिजिटल क्याम्पेन र संगठन विस्तारलाई अझ तीव्र बनाउँदै निर्वाचन अभियानलाई प्रभावकारी र जनमुखी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।