बाँके । बाल कुपोषण न्यूनीकरणलाई प्रभावकारी बनाउने उद्देश्यसहित बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा सञ्चालन गरिएको संयुक्त अनुगमनले कुपोषित बालबालिकाको उपचार, नियमित अनुगमन तथा समुदायस्तरमा पोषण सेवाको पहुँच विस्तारमा सकारात्मक प्रगति देखाएको छ।
बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालसँगको साझेदारी तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा सञ्चालन गरिरहेको ‘जीवनका लागि पोषण’ परियोजनाअन्तर्गत गरिएको स्थलगत अनुगमनमा कडा शीघ्र कुपोषण र मध्यम शीघ्र कुपोषणबाट प्रभावित बालबालिकाको उपचार अवस्था, स्वास्थ्य संस्थाबाट प्रवाह भइरहेको पोषण सेवा तथा समुदायमा सञ्चालित गतिविधिको समीक्षा गरिएको हो।
अनुगमन टोलीले नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखामा स्वास्थ्य प्रमुख नागेन्द्रकुमार साहसँग छलफल गर्दै कुपोषण व्यवस्थापनको प्रगतिको समीक्षा गरेको थियो। प्रस्तुत तथ्याङ्कअनुसार नरैनापुरमा कडा शीघ्र कुपोषणका ११२ जना बालबालिका पहिचान भएकामध्ये ७१ जना उपचार तथा नियमित अनुगमनमा समावेश भएका छन्। त्यस्तै, मध्यम शीघ्र कुपोषणका ३४९ जना बालबालिकामध्ये २६२ जना उपचार सेवामा आबद्ध भएका छन्।
त्यसैगरी, डुडुवा गाउँपालिकामा कडा शीघ्र कुपोषणका ८६ जना बालबालिकामध्ये ७८ जना तथा मध्यम शीघ्र कुपोषणका ४०७ जना बालबालिकामध्ये ३६६ जना उपचार तथा नियमित अनुगमन प्रक्रियामा समावेश भइसकेका छन्। यी तथ्याङ्कले पहिचान गरिएका अधिकांश कुपोषित बालबालिकालाई उपचारको दायरामा ल्याउन उल्लेखनीय प्रगति भएको देखाएको छ।
अनुगमन टोलीले नरैनापुर–२ स्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र र डुडुवा–५ स्थित काम्दी स्वास्थ्य चौकीको अवलोकन गरी एकीकृत कुपोषण व्यवस्थापन सेवाको कार्यान्वयन, उपचारको अवस्था तथा अभिलेख व्यवस्थापनको समीक्षा गरेको थियो। स्वास्थ्य संस्थाहरूमा उपचार सामग्रीको प्रभावकारी उपयोग भइरहेको र अभिलेख तथा प्रतिवेदन प्रणाली व्यवस्थित रहेको पाइएको जनाइएको छ।
टोलीले कुपोषित बालबालिकाको घरमै पुगेर गरेको अनुगमनका क्रममा उपचारमा रहेका अधिकांश बालबालिकाको पोषण अवस्थामा सुधार देखिएको जनाएको छ। अभिभावकलाई स्तनपान, पूरक आहार, सन्तुलित भोजन, सरसफाइ तथा नियमित उपचारको महत्वबारे परामर्श दिइएको थियो। उपचारबाट बाहिर रहेका कडा शीघ्र कुपोषणका बालबालिकालाई पुनः उपचार प्रक्रियामा समावेश गर्न आवश्यक सहजीकरणसमेत गरिएको थियो।
अनुगमनका क्रममा महिला स्वास्थ्य स्वयंसेविकाको सक्रिय परिचालन, स्वास्थ्यकर्मीको नियमित घरदैलो भ्रमण तथा पोषण सहजकर्ताको निरन्तर सहकार्यले कुपोषण व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुगेको निष्कर्ष निकालिएको छ।
स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले पहिचान भएका कुनै पनि कुपोषित बालबालिका उपचारबाट बाहिर नरहने व्यवस्था गर्नुपर्नेमा जोड दिँदै स्वास्थ्यकर्मीलाई घरदैलोमै पुगेर अभिभावकलाई परामर्श दिने र उपचारमा आबद्ध गराउने कार्यलाई थप सशक्त बनाउन आग्रह गर्नुभयो।
हेलेन केलर इन्टरनेशनल नेपालका प्रदेश व्यवस्थापक शशी देव शाहले स्वास्थ्यकर्मी, पोषण सहजकर्ता र महिला स्वास्थ्य स्वयंसेविकाबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउँदै जटिल अवस्थामा रहेका बालबालिकाको नियमित निगरानी तथा समयमै उपचार सुनिश्चित गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो।
अनुगमन टोलीका अनुसार सरकारी निकाय, विकास साझेदार संस्था र समुदायबीचको समन्वित प्रयासका कारण बाल कुपोषण न्यूनीकरण अभियानले सकारात्मक परिणाम दिन थालेको छ। समुदायमा पोषण सेवाको पहुँच विस्तार, समयमै पहिचान, उपचार र नियमित अनुगमनलाई अझ प्रभावकारी बनाउँदै स्वस्थ, सक्षम र कुपोषणमुक्त बालबालिका तथा समुन्नत समाज निर्माण गर्ने अभियानलाई निरन्तरता दिइने जनाइएको छ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँके, बाँके युनेस्को क्लब, हेलेन केलर इन्टरनेशनल नेपाल तथा परियोजनामा आबद्ध प्राविधिक, स्वास्थ्यकर्मी र पोषण सहजकर्ताहरूको सहभागिता रहेको थियो।