बाँके । बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको नेतृत्वमा जिल्लामा भएको सामाजिक, प्रशासनिक र शासकीय सुधारका कार्यहरूको प्रशंसा गर्दै नागरिक र नागरिक समाजका प्रतिनिधिहरूले गृहमन्त्री ओम प्रकाश आर्याललाई ज्ञापनपत्र पठाएका छन् ।
डुडुवा गाउँपालिकाका पाँच सयभन्दा बढी स्थानीयवासी आइतबार जिल्ला प्रशासन कार्यालय बाँके पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र पठाएका हुन्। उनीहरूले प्रजिअ जोशीमाथि विभिन्न समूहहरूबाट आएको धम्की र असहयोगप्रति चिन्ता व्यक्त गर्दै, धम्की दिनेहरूलाई “समाजका गुहे किरा र कंलक”को संज्ञा दिएका छन् ।
ज्ञापनपत्रमा भनिएको छ— “बाँकेमा असल प्रशासकलाई सहज वातावरणमा काम गर्न दिइनु पर्दछ। जनभावना विपरीत कुनै निर्णय भए, बाँकेका नागरिकहरूले त्यसको कडा प्रतिवाद गर्नेछन् ।”
उनीहरूले हालैको ‘जेनजी आन्दोलन’ र त्यसबाट उत्पन्न जनपरिवर्तनपछि प्रमुख जिल्ला अधिकारी जोशीले देखाएको सक्रियता, नीतिगत कठोरता र जनमुखी प्रशासनिक व्यवहारले बाँकेलाई शान्ति र सुव्यवस्थातर्फ अघि बढाएको उल्लेख गरेका छन् ।
यसैबीच, नारी विकास केन्द्र बाँकेले पनि प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीप्रति समर्थन जनाउँदै छुट्टै ज्ञापनपत्र पठाएको छ। केन्द्रले केही व्यक्तिहरूले निजी स्वार्थ पूरा नभएपछि प्रजिअलाई धम्की दिएको आरोप लगाउँदै, “प्रशासकलाई आफ्नो अनुकूल चलाउन नसकेपछि धम्की दिने संस्कार अस्वीकार्य छ ।”
केन्द्रकी कोषाध्यक्ष रचना श्रेष्ठले भनिन्, “प्रजिअ जोशी बाँकेका असल र निर्भीक प्रशासक हुन्। उहाँले जसरी निष्पक्ष रूपमा काम गर्नुभएको छ, त्यसले बाँकेबासीको भरोसा जितेको छ। हामीलाई विश्वास छ, गृह मन्त्रालयले पनि उहाँलाई सहज रूपमा काम गर्न सक्ने वातावरण निर्माण गर्नेछ।”
स्थानीयहरूका अनुसार, बाँकेमा गैरकानुनी क्रियाकलाप नियन्त्रण, प्रशासनिक अनुशासन र सुशासन प्रवर्धनका क्षेत्रमा हालका प्रमुख जिल्ला अधिकारीले गरेका कदमहरू जनतामैत्री र प्रभावकारी रहेको औल्याएका छन् ।