बाँके । नरैनापुर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत भरत बस्नेतलाई उच्च शिक्षा अध्ययनका लागि छिमेकी राष्ट्र चीन जान लाग्नुभएको अवसरमा गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ ।
वरिष्ठ लेखा अधिकृत बस्नेत चीनको सांघाईस्थित राष्ट्रिय लेखा संस्थानमा व्यावसायिक लेखा विषयमा स्नातकोत्तर तहको दुई वर्षे अध्ययन कार्यक्रम मा सहभागी हुन चीन जान लाग्नुभएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीको अध्यक्षतामा आयोजित बिदाइ कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष प्रेम मौर्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष मसुद अहमद शाह, वडा नं. ४ का वडाध्यक्ष मनोज शर्मा, नेपाली कांग्रेस नरैनापुर गाउँपालिका उपसभापति नितेश मौर्यलगायत गाउँपालिकाका कर्मचारीहरूको सहभागिता थियो ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष प्रेम मौर्यले अध्ययनका लागि चीन जान लाग्नुभएका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई सफल अध्ययन तथा सुखद भविष्यको शुभकामना व्यक्त गर्नुभयो । उहाँले उच्च शिक्षा अध्ययनबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई गाउँपालिकाको सेवा प्रवाह तथा विकासमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कर्मचारीहरूको तर्फबाट प्रशासन शाखा प्रमुख लक्ष्मीकान्त मिश्राले वरिष्ठ लेखा अधिकृत बस्नेतको अध्ययन यात्रा सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै उहाँले अध्ययनका क्रममा हासिल गर्ने नयाँ ज्ञान र अनुभवले गाउँपालिकाको वित्तीय तथा प्रशासनिक व्यवस्थापनलाई समेत थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्ययनका लागि चीन जान लाग्नुभएका वरिष्ठ लेखा अधिकृत बस्नेतले बिदाइ तथा शुभकामना प्रदान गर्ने गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सहकर्मीहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अध्ययनबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई भविष्यमा आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्दै गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले अध्ययनका लागि चीन जान लाग्नुभएका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले कर्मचारीको क्षमता विकासका लागि उच्च शिक्षा तथा अध्ययनका अवसर महत्वपूर्ण हुने उल्लेख गर्दै अध्ययनबाट प्राप्त ज्ञान र अन्तर्राष्ट्रिय अनुभवले स्थानीय तहको संस्थागत क्षमता विकासमा समेत योगदान पुग्ने बताउनुभयो ।
उहाँले अध्ययन पूरा गरी स्वदेश फर्किएपछि बस्नेतले सिकेको ज्ञान, प्रविधि तथा लेखा व्यवस्थापनसम्बन्धी नयाँ अभ्यासलाई गाउँपालिकाको वित्तीय प्रशासनमा उपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बिदाइ कार्यक्रममा गाउँपालिकाका कर्मचारीहरूले वरिष्ठ लेखा अधिकृत बस्नेतलाई खादा तथा गम्छा लगाएर सफल अध्ययन यात्राको शुभकामनासहित बिदाइ गरेका थिए ।
स्थानीय तहका कर्मचारीलाई उच्च शिक्षा तथा अन्तर्राष्ट्रिय अध्ययनको अवसर प्राप्त हुनु कर्मचारीको व्यक्तिगत क्षमता विकाससँगै संस्थागत सुधारका लागि समेत महत्वपूर्ण हुने गाउँपालिकाले जनाएको छ ।