काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसो बढ्दो क्रममा रहे पनि आज (आइतवार) तराईले भने केही राहत अनुभूति गरेको छ।
केही दिनदेखि क्रमशः घट्दै गएर न्यूनमत तापक्रम २.२ डिग्री सेल्सियसमा झरेको काठमाडौँको तापक्रम आज त्यसभन्दा पनि तल २.१ डिग्रीमा झरेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम २.१ डिग्री अभिलेख भएको बताए।
उनले आज सबैभन्दा कम जुम्लामा माइनस ४.९ र जोमसोममा माइनस ४.५ डिग्री रहेको पनि बताए।
उनले आज तराईले भने केही राहत महसुस गरेको बताए। उच्च बादल अर्थात् पातलो बादल (हाई क्याउड) देखिएकाले तराईमा हुस्सुमात्रै रहेको तर बाक्लो कुहिरो नदेखिएकाले केही न्यानो महसुस भएको जानकारी उनले दिए।
यो हाई क्लाउडले पानी भने नपार्ने उनले बताए। ‘खाली यसले तराईको हुस्सुलाई घटाएर पातलो बनाएको छ, आज साँझ ६ बजे धेरै क्षेत्रमा एक हजार मिटरभन्दा बढी भिजिबिलिटी छ,’ मौसमविद् अर्यालले भने, ‘जसले हिजोभन्दा कम कुहिरो भएकाले घाम लागेर राहत मिलेको छ।’
मौसमविद्का अनुसार भिजिबिलिटी १ हजार मिटरभन्दा तल भएमा कुहिरो लाग्ने र त्यसभन्दा माथि भएमा हुस्सु भन्ने गरिन्छ।
तराईमा भोलि पनि केही राहत मिल्ने तर जनजीवनमा भने चिसोले असर नै पार्ने भएकाले सचेत हुन आग्रह गरिएको छ। कतैकतै हुस्सु तथा कुहिरो पनि रहने बताइएको छ।
हिजो भने तराईका अन्य क्षेत्रको ‘भिजिबिलिटी’ अलि धेरै रहे पनि नेपालगञ्ज र धनगढीमा बाक्लो थियो। त्यहाँ ३ सय मिटरसम्म झरेको पनि मौसमविद् अर्यालले बताए।
उच्च पहाडी भेगमा केही मौसम बदली रहेको र हिमाली क्षेत्रमा हिमपात भने जारी नै रहेको छ।
विभागले आज साँझ ६ बजे सार्वजनिक गरेको विवरणअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभाग मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु लागेको छ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा कतै आंशिक बदली रहे पनि मौसम मुख्यतया सफा रहने जनाइएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हलुका हिमपातको सम्भावना रहेको छ। सोमवार दिउँसो पनि उस्तै रहने जनाइएको छ।