नेपालगन्ज । नेपालगन्ज न्युरोडस्थित लोकप्रिय ब्लु मिमोसा क्याफेले शनिबार साँझ आफ्नो ७ औं वार्षिकोत्सव उत्सवमय माहोलमा मनायो ।
क्याफेको वातावरण रंगीन बलून, फूलमालाले सजिएको थियो । कोमल बत्तीहरूको झिलिमिली र मधुर संगीतले सम्पूर्ण माहोललाई उत्सवको रंगमा रंगिएको थियो ।
साँझ ढल्दै जाँदा स्वाद र संगीतको संगमले आगन्तुकको मन लोभ्याइरहेको थियो । ग्राहकहरू हाँस्दै, फोटो खिच्दै र स्वादिष्ट परिकारको मजा लिँदै रमाइरहेका थिए ।
कार्यक्रमका प्रमुख आकर्षणमध्ये एक थियो क्याफेले नयाँ परिकार “चाईनिज स्वाद अनुसारको चिज कन्डक” सार्वजनिक गर्नु । क्याफेका सञ्चालक सचिन श्रेष्ठले यो नयाँ परिकार ग्राहकको माग र स्वाद अनुसार तयार गरिएको बताए ।
उनका शब्दमा,“हामीले खानामा नयाँ स्वाद मात्रै होइन, नेपालगन्जको पर्यटनमा पनि नयाँ अनुभव दिन खोजिरहेका छौँ । ब्लु मिमोसा अब स्वादसँगै शहरको आत्मीय पहिचान बन्नेछ ।” श्रेष्ठले आगामी दिनमा पनि ग्राहकको सुझाव अनुसार नयाँ मेनु लञ्च गर्दै जाने योजना रहेको जानकारी दिए ।
यसैबीच, सिनियर बारिष्टा कल्पना पौडेलले क्याफेमा बारिष्टा तालिम कार्यक्रमहरू सञ्चालन गरिएको बताउँदै भनिन्,“हामीले स्थानीय युवाहरूलाई कफी बनाउने सीप र सेवा शिष्टाचारमा तालिम दिँदै आएका छौँ । यसले रोजगारका अवसर सिर्जना गर्नुका साथै व्यावसायिकता पनि बढाएको छ ।”
उत्सवमा नरैनापुर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत भरत बस्नेत, इन्जिनियर प्रविन श्रेष्ठ, सञ्चारकर्मीहरू तथा स्थायी ग्राहकहरूको उपस्थितिले कार्यक्रमलाई अझ जीवन्त बनायो ।
अतिथिहरूले ब्लु मिमोसाको सात वर्षे यात्राको प्रशंसा गर्दै, यसले स्थानीय युवालाई रोजगारी र सहरलाई नयाँ पहिचान दिएको उल्लेख गरे ।
सात वर्षअघि सानो टेबल र सीमित परिकारबाट सुरु भएको यो क्याफे आज नेपालगन्जको स्वाद र शैलीको प्रतीक बनेको छ । जहाँ स्वादसँगै अनुभूति पनि परोसीन्छ । झिलिमिली बत्ती, चिजको गन्ध र हाँसोको आवाजबीच ब्लु मिमोसाले आफ्नो नयाँ अध्याय सुरु गरेको छ ।