बाँके । जानकी गाउँपालिकाका शिक्षकहरूलाई आधुनिक प्रविधिसँग जोड्दै शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, सिर्जनशील र प्रविधिमैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको तीन दिने कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ।
मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) बाँकेको आयोजना तथा जानकी गाउँपालिका बाँकेको आर्थिक सहयोगमा सञ्चालित तालिम शुक्रबार सम्पन्न भएको हो। तालिममा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका ४० जना शिक्षक तथा शिक्षिकाको सहभागिता रहेको थियो ।
समापन समारोहका प्रमुख अतिथि तथा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले कृत्रिम बुद्धिमत्ता आधुनिक शिक्षाको महत्वपूर्ण उपकरण भएको उल्लेख गर्दै यसको सही, सुरक्षित र सिर्जनात्मक प्रयोग गर्न शिक्षकहरूलाई आग्रह गर्नुभयो। उहाँले एआईले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा समेत यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवले प्रविधिसँगै शिक्षकहरूको क्षमता विकास अपरिहार्य रहेको बताउनुभयो। उहाँले आफू पनि तालिममा सहभागी भएर नयाँ ज्ञान र सीप हासिल गरेको अनुभव साझा गर्दै विद्यालयस्तरमा एआईको सकारात्मक प्रयोग बढाउनुपर्ने धारणा राख्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले सूचना प्रविधिको तीव्र विकाससँगै शिक्षण क्षेत्रमा नवीन प्रविधिको प्रयोग आवश्यक बन्दै गएको उल्लेख गर्नुभयो। उहाँले आगामी आर्थिक वर्षमा समेत यस्ता क्षमता विकासका कार्यक्रम सञ्चालनका लागि पहल गरिने बताउनुभयो ।
वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले शिक्षण क्षेत्रलाई समयानुकूल बनाउन एआई सम्बन्धी थप तालिम तथा कार्यक्रम सञ्चालनका लागि आवश्यक सहयोग र व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख झुमी कुमारी वलीले शिक्षकहरूको सीप विकासमार्फत शैक्षिक गुणस्तर अभिवृद्धि गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो। उहाँले सिकेका ज्ञान र सीप विद्यालयमा प्रयोग गर्न सहभागी शिक्षकहरूलाई आग्रह गर्नुभयो।
तालिमका प्रशिक्षक डा. डक्ट प्रसाद धितालले एआईलाई शिक्षण सिकाइको सहायक साधनका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रविधिको उपयोगले शिक्षकको कार्यक्षमता वृद्धि गर्न सक्ने बताउनुभयो।
अर्का प्रशिक्षक जीवन भण्डारीले एआईको जिम्मेवार प्रयोग, पाठ योजना निर्माण, प्रश्नपत्र तयारी, प्रस्तुतीकरण विकास तथा शैक्षिक सामग्री उत्पादनमा यसको उपयोगिताबारे सहभागीहरूलाई व्यवहारिक ज्ञान प्रदान गरिएको जानकारी दिनुभयो।
सहभागी शिक्षक विमला रावतले एआईले शिक्षण पद्धतिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउँदै तालिम अत्यन्त फलदायी रहेको प्रतिक्रिया दिनुभयो। अर्का सहभागी उमेश सोनखरले तालिमबाट प्राप्त ज्ञानले कक्षाकोठामा नवीन प्रविधिको प्रयोग गर्न प्रेरणा मिलेको बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) का अध्यक्ष आलम खानले सूचना र प्रविधिमा पहुँचबाट वञ्चित हुनु पनि आजको युगको एउटा विभेद भएको उल्लेख गर्दै मानव अधिकारको अभियानलाई प्रविधिसँग जोड्ने प्रयासस्वरूप तालिम सञ्चालन गरिएको बताउनुभयो।
उहाँले शिक्षकहरूलाई प्राप्त प्रमाणपत्रलाई केवल कागजी दस्तावेजका रूपमा नभई विद्यालय तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारीका रूपमा लिन आग्रह गर्नुभयो। साथै तालिममा सिकेका सीपहरू विद्यालय र विद्यार्थीको भविष्य निर्माणमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष खानले कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गर्ने जानकी गाउँपालिका, प्रशिक्षकद्वय, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सहभागी सम्पूर्ण शिक्षकहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
समापन समारोहमा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र तथा प्रशिक्षकद्वयलाई कदरपत्र प्रदान गरिएको थियो । गाउँपालिका अध्यक्ष छब्बन खाँलाई ब्यक्तिगत प्रोफाइल तयार गरि मायाको चिनो प्रदान गरिएको थियो ।
तालिमको समापनसँगै एआईको सुरक्षित, सिर्जनशील तथा शैक्षिक प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘१६ बुँदे एआई जानकी घोषणा पत्र’ जारी गरिएको छ।