बाँके । नेपालगञ्जको जमुनाहादेखि कोहलपुरसम्मको सडक क्षेत्रमा बनेका संरचना हटाउने सर्वदलीय बैठकले निर्णय गरेको छ ।
सडक अतिक्रमण हटाउन साझा धारणा निर्माणका लागि भएको सर्वपक्षिय बैठकबाट अतिक्रमण हटाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनु भयो ।
सडक अतिक्रमण हटाउन सबै राजनीतिक दल, सडक डिभिजन कार्यालय र सरोकारवालाका प्रतिनिधिहरुको सुझावका आधारमा अतिक्रमण हटाउने निर्णय गरिएको छ । नेपालगञ्ज र कोहलपुरलाई सुन्दर बनाउनका लागि सडक अतिक्रमण हटाउन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी खत्रीको भनाइ रहेको थियो ।
लुम्बिनी प्रदेश सभा सदस्य एवं माओवादी केन्द्रका बाँके संयोजक आइपि खरेलतीले सडक जति मिटर चौडा भएपनि नेपाल सरकारको नियमानुसार खाली गर्न सुझाव दिनु भयो । उहाँले नामका लागि मात्र निर्णय नगर्न आग्रह गर्दै कुरुप बनेको हाइवेलाई सुन्दर बनाउन सबै राजनितिक दलले सहयोग गर्ने बताउनु भएको थियो ।
यस्तै खजुरा गाउँपालिक अध्यक्ष किस्मत कुमार कक्षपतिले सुन्दर शहर बनाउनका लागि आफ्नो घर भत्काउनु परे भत्काउन पछि नहटने दाबी गर्नु भयो। उहाँले सडक अतिक्रमण हटाउने निर्णय भएकोले जबरजस्ती भत्काएर भएपनि अतिक्रमण हटाउन प्रशासन संग आग्रह गर्नु भएको थियो ।
सडक डिभिन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख होम बहादुर एसीले आज भएको सर्वपक्षिय निर्णयानुसार तत्काल अतिक्रमण हटाउने प्रक्रिया थाल्ने बताउनु भयो। सडक डिभिजन कार्यालयले गएको पुष मसान्तभित्र सडक अतिक्रमण हटाउन सूचनामार्फत अल्टिमेटम दिएको थियो । तर चैत पहिलो साता सकिँदा पनि अतिक्रमण हटेको छैन् ।
सडकको बीच सेन्टरबाट दायाँबायाँँ २५÷२५ मिटरसम्मको अतिक्रमित संरचना हटाउने सडक डिभिजनको तयारी छ । जमुनाहदेखि कोहलपुरसम्मको करिव २२ किलोमिटर क्षेत्रमा एक दर्जन सरकारी कार्यालय, आधादर्जन धार्मिक संस्था र करिव साढे सात सय निजी व्यक्तिहरुले सडक अतिक्रमण गरेर संरचना निर्माण गरेको सडक डिभिजन कार्यालय बाँकेले जनाएको छ ।
सर्वदलीय बैठक राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल लगायतले कानुन बमोजिम अतिक्रमित संरचना हटाउन तर्फ केन्द्रित हुन सबै संग आग्रह गर्नु भएको थियो । उहाले कानुन बिपरित संरचना निर्माण गरेकाहरुलाई आफ्नो पार्टीले साथ नदिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । बैठकमा संविधान सभा सदस्य आशा बिक, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, कोहलपुरका मेयर लुट बहादुर रावत र जानकि गाउँपालिकाका अध्यक्ष लगायत सुरक्ष अधिकारीहरुको सहभागिता रहेको थियो ।