बाँके । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार मोहम्मद इस्तियाक राई विजयी हुनुभएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्तिम मतपरिणाममा सूर्य चिन्हबाट चुनाव लड्नुभएका राईले २४ हजार ६२८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिबेक श्रेष्ठले १८ हजार ६८२ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले १७ हजार ५९६ मत प्राप्त गर्नुभएको छ।
अन्तिम मतगणनाअनुसार राईले निकटतम प्रतिस्पर्धी श्रेष्ठलाई ५ हजार ९४६ मतान्तरले पराजित गर्दै बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
मतपरिणाम सार्वजनिक भएसँगै एमालेका नेता–कार्यकर्ता तथा समर्थकहरूमा उत्साह छाएको छ। विजयी उम्मेदवार राईले मतदाताप्रति आभार व्यक्त गर्दै बाँके २ को विकास, समृद्धि र जनअपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहने बताउनुभएको छ।
राजनीतिक यात्रा र पृष्ठभूमि :
मोहम्मद इस्तियाक राई नेपाली राजनीतिमा युवा उमेरमै नेतृत्वमा पुगेका नेतामध्ये एक मानिन्छन्। उहाँ २८ वर्षको उमेरमा प्रतिनिधिसभा सदस्य (सांसद) बन्न सफल हुनुभएको थियो भने ३१ वर्षको उमेरमा श्रम तथा यातायात मन्त्री बनेर मन्त्रिपरिषद्मा प्रवेश गर्नुभएको थियो।
राईले आफ्नो राजनीतिक यात्रा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुरु गर्नुभएको थियो । त्यसपछि २०६२ सालतिर तत्कालीन मधेशी जनअधिकार फोरममा आबद्ध हुँदै सक्रिय राजनीति सुरु गर्नुभयो ।
उहाँ २०६४ सालमा मधेशी जनअधिकार फोरमको केन्द्रीय सदस्य, २०६५ सालमा पार्टीको राजनीतिक समिति सदस्य बन्नुभयो। पछि पार्टी एकीकरणको क्रममा जनता समाजवादी पार्टी नेपालमा सचिव हुँदै महासचिव पदसम्म पुग्नुभयो।
यसपटकको निर्वाचनमा भने उहाँ नेकपा (एमाले) को चुनाव चिन्ह सूर्य लिएर बाँके २ बाट प्रतिस्पर्धामा उत्रिनुभएको थियो।
राई पाँचौँ पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको हो। यसअघि उहाँ २०६४ र २०७४ सालमा विजयी हुनुभएको थियो भने २०७० र २०७९ सालमा पराजित हुनुभएको थियो। यस पटकको विजयसँगै उहाँ पुनः प्रतिनिधिसभामा फर्किन सफल हुनुभएको छ।