बाँके । बाँकेको नेपालगन्ज ३ एक्लैनीस्थित फुलवारी मस्जिदले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । समाजसेवामा अग्रसर रहेका नेपालगन्ज निवासी राजा खान बिइङ ह्युमनको सहयोगमा मस्जिदले शव चिस्यान सेवा सञ्चालनमा ल्याएको हो ।
शव चिस्यान सेवा नगरवासीलाई निः शुल्क उपलब्ध गराइने छ । विदेश तथा घरबाट टाढा रहेका आफन्तको पर्खाइमा धेरै दिनसम्म राख्नुपर्ने मृतक शरीरको सुरक्षाका लागि शव चिस्यान सेवा संचालनका लागि मस्जिदलाई सहयोग गरेको राजा खानले बताउनु भयो ।
वैदेशिक रोजगारी तथा घरबाट टाढा रहेका दाजुभाइलाई आफन्तको मृत्यु हुँदा शव राख्ने चिस्यान अभावमा आमाबुवा तथा आफन्तको अनुहारसमेत हेर्न नपाउने अवस्था नआओस् भनेर शव चिस्यान सेवा सञ्चालनमा ल्याएको खानको भनाई छ ।
मृत्युलाई रोक्न नसकिने तर कसैको मृत्यु हुँदा आफन्तजन आउँदासम्म शवलाई सुरक्षित राख्न सकियोस् भनेर नगरवासीलाई निःशुल्क शव चिस्यान सेवा मस्जिदबाट सञ्चालन गरेको खानले बताउनु भयो ।
नेपालगंज निवासी राजा खान अमेरिकामा बस्दै आउनु भएको छ । रमजान मनाउन अमेरिकाबाट नेपालगंज आएका खानले बिभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग गर्नुका साथै अनाथ, गरिब, विपन्न परिवारलाई समेत सहयोग गर्नु भएको छ । खानले यस अघि एमबिबिएस तयारीका लागि एक जना किशोरीलाई सहयोग गर्नु भएको थियो ।