बाँके । विगत लामो समयदेखि पत्रकारिता पेसामा ऐनाझैँ आवद्ध पत्रकार नेता पोषण केसी अब पार्टी सम्हाल्ने कसरतमा छन् । नेता केसीले नेपाली काङ्ग्रेस बाँके प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदका लागि उम्मेदवारी दिँदै खुला राजनीतिको कसरतमा लागेको देखिएका छन् ।

मङ्सिर ९ गते हुने बाँके जिल्लाको सङ्घीय क्षेत्रीय अधिवेशनका लागि नेता केसीले सभापतिमा उम्मेदवारी दिएपछि बाँके काङ्ग्रेसका साथै क्षेत्रबासीमा नयाँ उत्साह थपिएको बताइएको छ । पत्रकारितालाई बिट मार्दै नेपाली काङ्ग्रेसको पूर्णकालीन राजनीतिमा होमिएका नेता केसी नेपाल पत्रकार महासङ्घको पूर्व केन्द्रीय महासचिव हुन् ।
पत्रकारको न्यूनतम् पारिश्रमिक निर्धारण समितिको अध्यक्षसमेतको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका नेता केसी दुई दशकभन्दा बढी रेडियो नेपालमा काम गरेका बाँके काङ्ग्रेसका आशलाग्दा युवा नेता हुन् । नेता केसीको प्रतिस्पर्धा अहिलेका क्षेत्रीय सभापति संस्थापन समूहका माधवराम खत्रीसँग हुनेछ ।

क्षेत्रीय सभापति माधवराम खत्रीले पार्टी सङ्गठनलाई भन्दा व्यक्तिवादी चरित्र देखाउँदा पार्टी कमजोर भएको आरोप लगाउँदै पोषणको उम्मेदवारीसँगै नेपाली काङ्ग्रेस बाँके क्षेत्र नम्बर १ मा नयाँ उत्साह थपिएको स्थानीय नेता कार्यकर्ताको भनाइ छ । नेपाली काङ्ग्रेस बाँकेका सचिव तप्त पौडेलले भने, ‘पोषण पाएका छौँ, नेतृत्व बदलिन्छ ।’
केन्द्रीय राजनीतिमा सीधा पहुँच भएका युवा नेता केसी बाँकेका आशलाग्दा, उर्जाशील र बौद्धिक नेतामा गनिन्छन् । ‘कार्यकर्तामाझ लोकप्रिय र मिलनसार छवि बनाएका उनले आपतविपद् पर्दा सबैलाई अहोरात्र खटिएर साथ दिने गरेका छन्’, काङ्ग्रेस नेता डिल्ली आचार्यले भने, ‘अतिवादी सोंच र पार्टीलाई कब्जा गर्ने अधिनायकवादविरुद्ध केसीको पक्षमा उभिएका छौँ ।’
नेपाली काङ्ग्रेस बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पदका उम्मेदवार केसीलाई अग्रज सबै नेताको साथ छ । त्यति मात्र होइन पुराना नेतादेखि युवा पुस्ताका लोकप्रिय नेताहरूको साथ पनि केसीलाई मिलेको बताइएको छ । केसीलाई पूर्वसांसद ज्ञानु केसी, पूर्वक्षेत्रीय सभापतिहरू नारायण सिग्देल, नरबहादुर मल्ल, कृष्ण पौडेल र नारायणप्रसाद गौडेललगायतको साथ छ ।
महासमिति सदस्य हुर्मत न्यौपाने, मीना सिग्देल पनि केसी प्यानलको पक्षमा उत्रिएका छन् । काङ्ग्रेसका युवादेखि पुराना र प्रभावशाली नेता एकैथलोमा उभिएपछि माधवराम खत्री लगभग एक्लिएका छन् । खत्रीले पार्टीभित्र फरक विचार भएका नेता तथा कार्यकर्ताहरूलाई अपमानसमेत गर्ने गरेको नेताहरूको आरोप छ ।
नेपाल विद्यार्थी सङ्घको राजनीतिबाट पाइला अघि सारेका केसीले दुई दशक सक्रिय पत्रकारिता गरे । पढ्नमा तेज, वाककला, नेतृत्व वहन गर्न सक्ने क्षमता पोषण केसीका बाल्यकालदेखिकै गुण हुन् । छरछिमेक–गाउँघरमा कसैलाई अप्ठ्यारो पर्दा अग्रसर भएर खटिने उनको बाल्यकालकै स्वभाव हो ।