काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालमा मनमोहन अधिकारीभन्दा पुरानो कम्युनिस्ट नेता नभेटेको बताएका छन् ।
मंगलबार मनमोहन अधिकारी स्मृति प्रतिष्ठानले अधिकारीको २४औँ स्मृति दिवसमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“आँखामा नबिझाउने अत्यन्तै आदर्श व्यक्ति हुनुहुन्थ्यो मनमोहन अधिकारी,” उनले भने,“नेपालमा कम्युनिस्ट पार्टीको स्थापना हुनुभन्दा ७ वर्ष अगाडि नै उहाँ कम्युनिस्ट हुनुहुन्थ्यो ।”
पार्टी स्थापना हुनुभन्दा अघि नै मजदुरको हक अधिकारका लागि लडेको र भारतबाट ब्रिटिस भगाउ आन्दोलनमा लागेको ओलीले बताए । “नेपालका कम्युनिस्टमध्ये मनमोहन अधिकारी ज्येष्ठ कम्युनिस्ट हुन् । मनमोहन अधिकारीभन्दा पुरानो कम्युनिस्ट नेता मैले भेटेको छैन,” उनले भने,“पार्टी स्थापना हुनुभन्दा अगाडि नै कम्युनिस्ट हुनुहुन्थ्यो ।”
अधिकारी महान उद्देश्य बोकेर हिँड्ने अथक साधक भएको ओलीको भनाइ छ ।