बाँके । पश्चिम नेपालको सबैभन्दा ठूलो तथा प्रतिक्षित फुटसल प्रतियोगिता GOALFEST 2026 नेपालगन्जमा आयोजना हुने भएको छ । इश्वरी युनाइटेड प्रा. लि. को आयोजनामा हुन लागेको उक्त प्रतियोगिता आगामी माघ ९ र १० गते (जनवरी २३ र २४, २०२६) मा बागेश्वरी फुटसल एण्ड स्पोर्ट्स हब, नेपालगन्ज मा सञ्चालन हुनेछ ।
GOALFEST 2026 ले नेपालगन्जसहित पश्चिम नेपालका विभिन्न जिल्लाबाट उत्कृष्ट फुटसल टोलीहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य लिएको छ । खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्वस्थ प्रतिस्पर्धा र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजक संस्था इश्वरी युनाइटेडका अध्यक्ष सौगात विक्रम शाह ले जानकारी दिनुभयो ।
अध्यक्ष शाहका अनुसार GOALFEST केवल एक खेल प्रतियोगिता मात्र नभई पश्चिम नेपालमा फुटबल संस्कृतिको उत्सव हो । “युवालाई खेलकुदतर्फ आकर्षित गर्दै व्यावसायिक फुटसल वातावरण निर्माण गर्नु र बाँके जिल्लालाई खेलकुद गन्तव्यका रूपमा स्थापित गर्नु हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो ।
प्रतियोगिताका खेलहरू व्यावसायिक मापदण्डअनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टोलीलाई रु ७५ हजार नगद पुरस्कार, ट्रफी तथा पदक प्रदान गरिनेछ । साथै दर्शकहरूका लागि मनोरञ्जनात्मक कार्यक्रम, खानाका स्टल तथा अन्य गतिविधि पनि रहने कार्यक्रम संयोजक रोशन महतरा ले जानकारी दिनुभयो । उनका अनुसार यी गतिविधिले प्रतियोगितालाई अझ आकर्षक, व्यवस्थित र विश्वसनीय बनाउने विश्वास लिइएको छ ।
प्रतियोगिताका लागि टिम दर्ता प्रक्रिया सुरु भइसकेको छ । इच्छुक टोलीहरूले बागेश्वरी फुटसल एण्ड स्पोर्ट्स हब तथा मान्भी स्पोर्ट्स हाउस (QFX भित्र) बाट दर्ता फाराम प्राप्त गर्न सक्नेछन् । सिट संख्या सीमित रहेकाले छिटो दर्ता गर्न आयोजकले अनुरोध गरेको छ ।
GOALFEST 2026 ले पश्चिम नेपालमा फुटसल प्रतियोगिताको नयाँ मापदण्ड स्थापित गर्दै खेलकुद विकास, सामुदायिक एकता र युवा सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।