बाँके । बाँकेमा आज राति १२ बजेबाट मतगणना गर्ने तयारी गरिए पनि मतपेटिका संकलनमा समय बढी लागेकोले मतगणना समयमा हुन सकेको छैन ।
निर्वाचन सम्पन्न भएको पालिकामा मतपेटिका संकलन भइसकेको र केही पालिकामा मतपेटिका संकलन हुने क्रममा छन् ।
सबै पालिकाहरुमा मतपेटिका संकलन भइसकेपछि मतगणना शुरु गर्ने तयारी गरिएको छ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक राखेर भएको सहमति अनुसार मत गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारिले जानकारी दिनु भयो ।
नेपालगञ्जमा आजै रातीदेखि मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो १२ बजे भनिए पनि प्राबिधिक समस्याका कारण समयमा हुन नसके बताउदै राती १ बजे भित्रै मतगणना सुरु गर्ने तयारी गरिएको बताउनु भयो ।
यसैगरी कोहलपुर नगरपालिकामा पनि रातीदेखि नै गणनाको तयारी गरिएको निर्वाचन अधिकृत तिर्थराज भट्टले बताए । काेहलपुरकाे पिपरीकाे सरस्वती माविमा रहेको मतदान केन्द्रमा साझ 5 बजेपछि मतदान गर्ने कुरामा विवाद भएपछि मतदान हुन सकेकाे थिएन । सर्वदलिय बैठक बसेर केन्द्र भित्र रहेकालाई मतदान गर्न दिने सहमति भए अनुसार मतदान गर्न दिएको निर्वाचन अधिकृत भट्टले जानकारी दिनु भयो ।
राप्तीसोनारी गाउँपालिकामा भने भोली विहान ६ बजेदेखि मतगणना गर्ने तयारीमा आफूहरु रहेको निर्वाचन अधिकृत टोपेन्द्र बहादुर केसीले बताउनुभयो । जानकीमा सर्वदलीय बैठक बसेर त्यसको निर्णयको आधारमा सकभर आजै रातीदेखि नभए भोली विहान ८ बजेदेखि मतगणना हुने निर्वाचन अधिकृत बासुदेव शर्माले जानकारी दिनुभयो ।
नरैनापुरमा मतपेटिका बुझेर मत गणनाकाे लागि सर्वदलीय बैठक बसेर आजै मतगणना शुरु गर्ने निर्वाचन अधिकृत रेशम आचार्यले जानकारी दिनुभयो । डुडुवामा पनि रातीदेखि नै मतगणना गर्ने तयारी छ । निर्वाचन अधिकृत फटिकराज मुडभरीले सर्वदलीय निर्णय अनुसार मतगणना गरिने जानकारी दिनु भयो ।
यसैगरी खजुरामा पनि साेहि अनुसारको तयारी भएको निर्वाचन अधिकृत लाेकबहादुर सुनारले बताउनु भयो।
बैजनाथमा पनि सर्वदलीय बैठकको निर्णय अनुसार आजै राती नै त्यो नभए भोली विहानदेखि मतगणना शुरु हुने निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिनुभयो ।
धेरैजसो मतदान केन्द्रहरुमा साँझ अबेरसम्म मतदान भएकाले मतपेटिका संकलनमा ढिलाई हुँदा मतगणना मध्यराती या भोली विहान शुरु हुने देखिएको छ ।
मतदान अबेरसम्म चल्दा बाँकेमा खसेको मत अझै यकिन हुन सकेको छैन । यद्यपि औषतमा ७० प्रतिशत मत खसेको आंकलन गरिएकाे छ ।