बाँके । नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा समन्वय र सहकार्य सुदृढ गर्ने उद्देश्यसहित दुवै देशका उच्च सुरक्षा अधिकारीहरूबीच त्रैमासिक बैठक मंगलवार सीमास्थित एकीकृत जाँच चौकी (आईसीपी) चेकपोस्टमा सम्पन्न भएको छ।
बैठकमा नेपालतर्फबाट सशस्त्र प्रहरी बल (एपीएफ) का उच्च अधिकारीहरू तथा भारततर्फबाट सीमा सशस्त्र बल (एसएसबी) का डीआईजीसहित सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा भारततर्फका एसएसबी महानिरीक्षक वी. विक्रमण तथा नेपालतर्फबाट एपीएफका नायब महानिरीक्षक दीपेन्द्र कुंवरको नेतृत्वमा सीमाक्षेत्रको वर्तमान सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो। साथै, सीमा व्यवस्थापनका विविध पक्षहरूमा गहन छलफल भएको जनाइएको छ।
छलफलका क्रममा सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थापन, आवागमन सहजता, व्यापारिक गतिविधि, वन संरक्षण तथा अन्य समन्वयात्मक विषयहरूलाई प्राथमिकताका साथ उठाइएको थियो। बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र आपसी समझदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन्।
बैठकको मुख्य उद्देश्य नेपाल–भारतबीचको मित्रता र सहकार्यलाई अझ मजबुत बनाउनु रहेको उल्लेख गरिएको छ। यसले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै पारस्परिक विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
एपीएफका डिआइजी दीपेन्द्र कुंवरले आफ्नो मन्तव्यमा दुई देशबीच स्थापित विश्वासलाई अझ मजबुत बनाउन संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले सीमा व्यवस्थापनमा समन्वय र सहकार्यलाई अझ तीव्र बनाउने आवश्यकता औंल्याउनुभयो।
त्यस्तै, भारततर्फका उप–महानिरीक्षक वी. विक्रमणले परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई आधार बनाएर सीमा व्यवस्थापनलाई संवेदनशील र सहकार्यपूर्ण ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले सम्बन्धित निकायहरूबीच पारदर्शिता, समन्वय र विश्वास अझ बलियो बनाउनुपर्ने धारणा राख्नुभयो।
बैठकपछि दुवै देशका अधिकारीहरूले नेपाल–भारत सीमामा रहेको नेपालगन्ज रोड रेलवे स्टेशनको स्थलगत अवलोकन गरेका थिए। सो अवसरमा भविष्यका योजना, पूर्वाधार विकास तथा सेवा विस्तारका सम्भावनाबारे समेत छलफल गरिएको थियो।
यस प्रकारका नियमित बैठकहरूले नेपाल–भारतबीचको सीमा व्यवस्थापनलाई व्यवस्थित बनाउनुका साथै दुई देशबीचको सहकार्यलाई थप उचाइमा पुर्याउने विश्वास गरिएको छ ।