बाँके । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराम शर्माले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिनु भएको छ ।
सीमावर्ती बाँकेको जमुनाह र आसपासको क्षेत्रबाट आवत–जावत बढेपछि मन्त्री शर्माले शुक्रबार स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सो निर्देशन दिनु भएको थियो ।
भारतमा कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको अवस्थामा सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको लर्को लाग्ने गरेको पाइएको भन्दै मन्त्री शर्माले नाकाबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्ने, स्वास्थ्य परीक्षण गर्ने काम गर्न निर्देशन दिनु भयो ।
मन्त्री शर्माले भन्नुभयो, ‘दैनिक हजारौँको संख्यामा प्रवेश गरेको पाइएको छ, यसलाई तुरुन्त नियन्त्रण होस् ।’ मुख्य नाकाबाट भन्दा चोरबाटो प्रयोग गर्नेहरूलाई नियन्त्रण गर्न उहाँले निर्देशन दिनु भयो। उहाँले भन्नुभयो‘ मुख्य नाकाबाट मात्र आवाज–जावतको व्यवस्था मिलाउनुहोस् ।’
आज शुक्रबार जमुनाह नाकाको स्थलगत निरीक्षण गर्दै मन्त्री शर्माले कोभिड उपचारमा संलग्न चिकित्सक र सिमा नाकामा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरूलाई ओमिक्रोन भेरियन्टको सम्भावित सङ्क्रमणबाट सतर्क रहेर काम गर्न सुझाव दिनु भएको थियो ।
जमुनहा नाका र होल्डिङ सेन्टरको आज निरीक्षण गर्दै उहाँले पछिल्लो समयमा कोरोना भाइरस तथा यसको घातक भनिएको ओमिक्रोन भेरियन्टको सम्भावित खतरातर्फ सतर्क रहेर काम गर्न र त्यसको उपचारका लागि तयारी गर्न समेत निर्देशन दिनु भयो ।
साथै मन्त्री शर्माले स्वास्थ्यकर्मीहरुको बिमाका लागि पहल गर्ने बताउँदै संक्रमित स्वास्थ्यकर्मी र अन्य कोरोना सङ्क्रमितहरूलाई उपचारमा कुनै कमी हुन नदिन पनि आग्रह गर्न भएको थियो ।
उहाँले स्वास्थ्य उपचारमा कुनै कमी कमजोरी हुन नदिन प्रदेश सरकार चनाखो भएको र ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न सक्ने देखिएकाले होल्डिङ सेन्टर र अस्पतालको व्यवस्थापन चुस्त र दुरुस्त राख्न सम्बन्धित निकायहरु संग आग्रह गर्नु भएको थियो । मन्त्री शर्माले नाकामा रहेको होल्डिङ सेन्टर र पिरहवामा निर्माण भइरहेको अत्याधुनिक होल्डिङ सेन्टरलाई तिब्र गतिमा निर्माण सम्पन्न गर्न निर्देशन दिनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँके प्रवक्ता डिएसपि मधुसुधन न्यौपानेले सीमा–नाकामा सुरक्षा जाँच कडा गरेको बताउनु भयो । शंकास्पदहरूको चेकजाँच गरी सम्बन्धित निकायमा जानकारी गराउने गरेको उहाँले मन्त्री शर्मालाई जानकारी दिनु भएको थियो ।
खुल्ला सीमाका कारण आवत–जावतमा कडाइ गर्न समस्या भएको बताउनु भएको थियो । मन्त्री संगै सिमा नाकाको अनुगमन गर्न अनुसन्धानका एसपि नगेन्द्र गिरी, अधिकारकर्मी एंव युथ टुडेका सम्पादक आलम खान, प्रेस सेन्टरका केन्द्रीय सदस्य शुसिला लामिछाने, डिएसपि न्यौपाने, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, जिल्ला प्रशासन कार्यालय बाँकेका शाखा अधिकृत राम कुमार सोनकर, जिल्ला प्रशासन कार्यालय बाँकेका रुपन ज्ञवाली, कोरोना फोकल पर्सन तेज ओली लगायत पत्रकार सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।