बाँके । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित बाँके क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारले आफ्नो निर्वाचन क्षेत्रलाई विकास, सुशासन र आर्थिक समृद्धिको नमूना बनाउने लक्ष्यसहित आगामी आर्थिक वर्षको बजेटमा ठोस योजनाहरू समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बिहीबार जानकी गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सांसद सुनारले नागरिकको जीवनस्तर सुधारका लागि भौतिक पूर्वाधार विकासलाई पहिलो सर्तका रूपमा अघि सार्दै अबको विकास “गति र परिणाममुखी” हुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “पूर्वाधार विकासबिना समृद्धि सम्भव छैन। त्यसैले सडक, पुल, सिँचाइ, स्वास्थ्य र शिक्षा क्षेत्रका योजना आगामी बजेटमा प्राथमिकताका साथ समेटिनेछन्। विकासका काम कतै अड्किन नदिने गरी म निरन्तर खटिनेछु।”
विकासमा स्प्रिड: केन्द्रदेखि स्थानीय तहसम्म समन्वय
सांसद सुनारले वर्तमान सरकारको विकास गर्ने ‘स्प्रिड’लाई व्यवहारमा उतार्दै संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वयमार्फत योजना कार्यान्वयन गर्ने बताउनुभयो ।
उहाँका अनुसार नीति निर्माणमै सीमित नहुने, बरु कार्यान्वयनको चरणमा समेत प्रत्यक्ष निगरानी र सहकार्य गर्ने अभ्यासलाई अगाडि बढाइनेछ ।
“अब विकास कागजमा होइन, जमिनमा देखिनेछ। जनताको अपेक्षा अनुसार परिणाम दिने काममा म आफैँ अग्रसर रहनेछु,” उहाँले जोड दिनुभयो ।
पर्यटनमार्फत आर्थिक रूपान्तरणको योजना
आफूलाई “टुरिष्ट सांसद”को रूपमा प्रस्तुत गर्दै सुनारले बाँके–३ लाई पर्यावरणीय तथा धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउने घोषणा गर्नुभयो ।
जानकी गाउँपालिका लगायत क्षेत्रका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको संरक्षण, प्रवर्द्धन र पूर्वाधार विस्तारमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उहाँको योजना छ ।
नीतिगत अवरोध हटाउँदै निजी क्षेत्र र स्थानीय समुदायको सहभागितामा पर्यटन विकासलाई तीव्रता दिइने उहाँले बताउनुभयो ।
सुशासन र जनसहभागिता: विकासको आधार
सुनारले विकाससँगै सुशासनलाई अनिवार्य सर्तका रूपमा अघि सार्दै पारदर्शिता, जवाफदेहिता र जनसहभागितामा आधारित कार्यशैली अपनाउने बताउनुभयो ।
“मेरो शक्ति नै जनताको साथ हो। जनताको निगरानी, सुझाव र सहभागितामा मात्रै दिगो विकास सम्भव हुन्छ,” उहाँले भन्नुभयो ।
आगामी बजेटमा समेटिने स्थानीय प्राथमिकता
कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले १८ बुँदे मागपत्र हस्तान्तरण गर्दै कृषक केन्द्रित “गोठदेखि ओठसम्म” कार्यक्रम, दलित, मधेशी, मुस्लिम तथा अतिविपन्न महिलाका लागि आयआर्जनका कार्यक्रमहरू आगामी बजेटमा समेट्न आग्रह गर्नुभयो ।
त्यस्तै वडा नं. ५ का अध्यक्ष एवं पालिका प्रवक्ता टिकानाथ यादवले नागाबाबा मन्दिरको स्तर उन्नति, ताल सौन्दर्यकरण लगायत दुई दर्जन योजनाहरू कार्यान्वयनका लागि पहल गर्न अनुरोध गर्नुभयो ।
वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राइले सीमाना क्षेत्रमा देखिएका समस्या समाधानका लागि विशेष पहल आवश्यक रहेको उल्लेख गर्नुभयो ।
साझा लक्ष्य: समृद्ध बाँके–३
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुश्मा स्वर्णकार,निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णा भण्डारी, वडा अध्यक्षहरू, आइटी अधिकृत विकास जिसी, योजना प्रमुख शोभा पौडेल, जिन्सी शाखा प्रमुख राजु यादव, सामाजिक बिकास समितिका संयोजक राम अचल धोबी, अध्यक्षका निजि सल्लाहकार सोहराब अलि दर्जी लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
सांसद सुनारले समग्रमा विकास, सुशासन र समावेशी कार्यक्रमलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्षको बजेटमार्फत बाँके–३ लाई आर्थिक, सामाजिक र पर्यटकीय रूपमा अगाडि बढाउने स्पष्ट सन्देश दिनुभयो ।
उहाँले नागरिकसँगै हातेमालो गर्दै “साझा सुन्दर भविष्य निर्माण” को यात्रामा निरन्तर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।