डुडुवामा दिपेन्द्र बिष्टको पक्षमा जनलहर, विकासका एजेन्डाले मतदाता उत्साहित

यूथ टुडे समाचारदाता 3190+ समाचार ( )
१ फाल्गुन २०८२, शुक्रबार

बाँके । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा बाँकेको डुडुवा गाउँपालिकामा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ । घरदैलो अभियानका क्रममा दिपेन्द्र बिष्ट जहाँ पुगे पनि स्थानीयबासीको उल्लेख्य सहभागिता र उत्साह देखिन थालेपछि क्षेत्र नं. २ मा उनको पक्षमा जनलहर बढ्दै गएको संकेत मिलेको छ।

नेपाली कम्युनिष्ट पार्टी का तर्फबाट बाँके क्षेत्र नं. २ का उम्मेदवार बिष्ट जब डुडुवाका गाउँ–टोलमा पुगे, त्यहाँका नागरिकले वर्षौंदेखि झेल्दै आएका नालाबाटो, बाढी तथा डुबान, सिँचाइको अभाव, मलखादको समस्या लगायतका पीडा खुलेर राखे । खेतबारी डुबानमा परेर उत्पादन घटेको, वर्षायाममा आवतजावत नै कठिन हुने अवस्था र समयमा मलखाद नपाउँदा किसान मारमा परेको गुनासो स्थानीयले सुनाए ।

स्थानीयको समस्या ध्यानपूर्वक सुनेपछि बिष्टले आफू निर्वाचित भए यी विषयलाई प्राथमिकतामा राखेर समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए । “डुडुवाको विकास बिना बाँके–२ को समग्र समृद्धि सम्भव छैन,” उनले भने, “म यहाँको नालाबाटो व्यवस्थापन, दीर्घकालीन बाढी नियन्त्रण योजना, प्रभावकारी सिँचाइ संरचना र किसानलाई समयमै मलखाद उपलब्ध गराउने विषयमा स्पष्ट योजना लिएर आएको छु ।”

घरदैलोका क्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेख्य उपस्थिति देखिनु, महिलाहरूको सक्रिय सहभागिता र किसानहरूको खुलेको समर्थनले बिष्टको पक्षमा माहोल बन्दै गएको स्थानीय स्तरमा चर्चा छ । चोक–चौतारी र चिया पसलका बहसहरूमा समेत यसपटक परिवर्तन र विकासको एजेण्डाले स्थान पाउन थालेको छ ।

डुडुवाका बासिन्दा भन्छन्, “हामीलाई आश्वासन होइन, काम चाहिएको छ ।” बिष्टले पनि यसपटकको निर्वाचनलाई सेवा र समर्पणको अवसरका रूपमा लिने बताएका छन् ।

चुनावी अभियान तीव्र बन्दै जाँदा बाँके क्षेत्र नं. २ मा दिपेन्द्र बिष्टको पक्षमा देखिएको उत्साह र सक्रियता आगामी परिणामतर्फ संकेत गर्ने जनलहरका रूपमा व्याख्या हुन थालेको छ। अब मतपेटिकाले यो जनसमर्थनलाई कति पुष्टि गर्छ, त्यो भने निर्वाचन परिणामले नै तय गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार