बाँके । बाँके जिल्लाको सदरमुकाम नेपालगन्जमा मुस्लिम समुदायको महान् पर्व इदुल फित्र मनाउन सबै तयारी पूरा गरिएको छ । यस वर्ष इद शनिबार परेकोले आवश्यक सम्पूर्ण तयारी शुक्रबार नै सम्पन्न गरिएको मुस्लिम अगुवा मोहम्मद ज्याउलहकले जानकारी दिनुभयो ।
रमजान महिनाको अन्तिम दिन भएकाले शुक्रबार बिहानैदेखि बजारमा इदको खरिदारी गर्नेहरूको भीड बढेको छ । विगत केही दिनदेखि नै किनमेल बढ्दै गएकाले बजारहरू रातिसम्म खुल्ने गरेका छन् । जसका कारण नेपालगन्जका बजार क्षेत्रमा यतिबेला विशेष रौनक र चहलपहल देखिएको छ ।
जामा मस्जिदका धर्मगुरु मुफ्ती जाफर रजा मिस्बाहीका अनुसार इस्लाम धर्मका पाँच आधार स्तम्भ—इमान, नमाज, रमजान (रोजा), जकात र हज—मध्ये रमजानको रोजा महत्वपूर्ण धार्मिक अभ्यास हो। अरबी भाषामा ‘सौम’ भनिने रमजान महिनामा मुस्लिम समुदायले सूर्योदयअघि सेहरी खाएर रोजा सुरु गर्ने र सूर्यास्तपछि मगरिबको आजानसँगै इफ्तार गरेर रोजा खोल्ने परम्परा रहेको उहाँले बताउनुभयो
जामा मस्जिद तथा इदगाह सञ्चालक समितिका पूर्व अध्यक्ष हाजी अब्दुल रहमान मियाँका अनुसार बिहीबार बेलुकी इदको चन्द्रमा नदेखिएकाले शुक्रबार अन्तिम रोजा राख्ने र शनिबार इदुल फित्र मनाउने निर्णय गरिएको हो । उहाँका अनुसार बिपी चोकस्थित इदगाहको सरसफाइ गरी सामूहिक नमाजका लागि सबै तयारी पूरा गरिएको छ । शनिबार बिहान आठ बजे इदको सामूहिक नमाज अदा गरिनेछ भने जिल्लामा रहेका विभिन्न मस्जिदहरूमा पनि त्यसपछि नमाज हुने बताउनु भयो ।
इदका अवसरमा सहरका विभिन्न स्थानमा इद मिलन कार्यक्रम आयोजना गर्ने तयारी पनि गरिएको छ । अधिकारकर्मी साहिल अन्सारीका अनुसार यस्ता कार्यक्रममा हिन्दु–मुस्लिम समुदायलाई एकै ठाउँमा ल्याएर सेवईलगायतका परिकार वितरण गर्दै आपसी सद्भाव र भाइचाराको सन्देश फैलाइनेछ ।
रमजानको अन्तिम दिन भएकाले बजारमा चहलपहल अझ बढेको छ । विशेषगरी चुरा, कस्मेटिक, रेडिमेड कपडा पसलसँगै सेवई र खजुर किन्नेहरूको भीड उल्लेख्य देखिएको छ ।
यसैबीच धर्मगुरु जाफर रजा मिस्बाहीले इदको सामूहिक नमाजपछि देशमा शान्ति, समृद्धि र आर्थिक उन्नतिका लागि विशेष प्रार्थना गरिने बताउनुभएको छ । साथै, उहाँले इद पर्वले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।