बाँके । बाँकेको जानकी गाउँपालिकामा स्थानीय स्तरमै रोजगारी र स्वरोजगारीका अवसर विस्तार गर्ने उद्देश्यले आयोजित रोजगार संवाद मञ्च सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले कृषि आधुनिकीकरण, प्राविधिक शिक्षा, घरेलु उद्योगको प्रवर्द्धन र स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत रोजगारीका अवसर बढाउनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा रोजगार संवाद मञ्चका अध्यक्ष छब्बन खाँले चालु आर्थिक वर्षमा गाउँपालिकाको श्रम स्वीकृति शाखामार्फत ५६ जनाले श्रम स्वीकृति लिएको जानकारी दिनुभयो। उहाँका अनुसार वैदेशिक रोजगारीमा रहेका श्रमिकका ८ जना बालबालिकाले छात्रवृत्ति प्राप्त गरेका छन्।
उहाँले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका तीन जनाको मृत्यु भएपछि उनीहरूका परिवारले वैदेशिक रोजगार बोर्डबाट १० लाख रुपैयाँ र बीमा दाबीमार्फत १३ लाख रुपैयाँ गरी कुल २३ लाख रुपैयाँ आर्थिक सहायता प्राप्त गरेको जानकारी दिनुभयो। वैदेशिक रोजगारीमा जाने श्रमिकले कानुनी प्रक्रियाअनुसार श्रम स्वीकृति लिनुपर्नेमा उहाँले जोड दिनुभयो।
रोजगार संयोजक सीमा चौधरीले कार्यक्रममा रोजगारीका सम्भावना, समस्या, चुनौती तथा आगामी दिनमा रोजगार प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको बताउनुभयो। उहाँले कृषि आधुनिकीकरण, प्राविधिक शिक्षामा लगानी, दक्ष जनशक्ति उत्पादन, घरेलु तथा साना उद्योगको विकास र स्थानीय उत्पादनको प्रभावकारी बजारीकरणमार्फत स्थानीय स्तरमै पर्याप्त रोजगारी सिर्जना गर्न सकिने धारणा राख्नुभयो।
गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले कृषि क्षेत्रमा प्रभावकारी नीति तथा नियमको अभाव, स्वदेशी उत्पादनको पर्याप्त प्रवर्द्धन हुन नसक्नु, बैंक तथा वित्तीय संस्थाबाट उत्पादनमूलक क्षेत्रमा अपेक्षित लगानी नहुनु तथा स्थानीय स्रोत–साधनको पूर्ण उपयोग हुन नसक्नु रोजगारी विस्तारका प्रमुख चुनौती रहेको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षमा यस्ता समस्याको समाधान गर्ने नीति तथा कार्यक्रम ल्याइने जानकारी दिनुभयो।
वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवले आधुनिक कृषि औजार सहज रूपमा उपलब्ध नहुनु, दक्ष जनशक्ति वैदेशिक रोजगारीतर्फ पलायन हुनु, घरेलु तथा साना उद्योग सञ्चालनसम्बन्धी सीपको अभाव तथा उद्योगीलाई पर्याप्त सहयोग नपुग्नु रोजगारी सिर्जनाका चुनौती रहेको उल्लेख गर्नुभयो। उहाँले यी समस्याको समाधानमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
विपद् व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंहले रोजगार सेवा केन्द्रमार्फत बेरोजगार युवाको अभिलेखीकरण गरी स्थानीय उद्योग, व्यवसाय तथा संघसंस्थासँग समन्वय गरेर रोजगारीका अवसर सिर्जना गर्नुपर्ने सुझाव दिनुभयो। आधुनिक प्रविधिमा दक्ष जनशक्ति उत्पादन र घरेलु उद्योगलाई बजारीकरणसम्म सहयोग गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
मनोपरामर्शकर्ता राधा आचार्यले चालु आर्थिक वर्षमा २६ जनालाई मनोपरामर्श सेवा प्रदान गरिएको र तीमध्ये ६ जना लैङ्गिक हिंसाबाट प्रभावित रहेको जानकारी दिँदै आगामी आर्थिक वर्षदेखि सेवालाई अझ प्रभावकारी बनाइने बताउनुभयो।
योजना शाखा प्रमुख शोभा पौडेलले वैदेशिक रोजगारीमा रहेका नागरिकको तथ्याङ्क संकलन गरी व्यवस्थित प्रोफाइल तयार गर्नुपर्ने सुझाव दिनुभयो।
रोजगार संयोजक चौधरीले गाउँपालिकाले प्रत्येक वर्ष सीपमूलक तथा क्षमता अभिवृद्धिका तालिम सञ्चालन गरिरहेको भए पनि तालिममा मात्र सीमित नभई सामूहिक उद्यम र व्यवसाय प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो। स्थानीय सरकारको सहकार्यमा सामूहिक व्यवसाय विकास गर्न सके दिगो रोजगारी र स्वरोजगारी सिर्जना गर्न सहज हुने उहाँको भनाइ थियो।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक राम अचल धोबी, अध्यक्षका निजी सल्लाहकार सोहराब अली, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा रोजगार संवाद मञ्चका पदाधिकारीहरूको सहभागिता रहेको थियो।