बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि सार्वजनिक सुनुवाई’ कार्यक्रम सम्पन्न गरेको छ ।

प्रहरीको शान्ति सुरक्षाको विषयमा स्थानीय जनतासँग राय सुझाव लिन र सम्भावित अपराधीक घटना न्यूनीकरण गर्न समुदाय प्रहरी र जनप्रतिनिधि बिच समन्वयकारी भुमिका कसरी स्थापित गर्न सकिन्छ साथै प्रहरीले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बाँकेको कार्यालयमा कार्यक्रम आयोजना गरिएको बाँके प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले बताउनु भयो ।
सुनुवाईमा सहभागिबाट उठेको प्रश्नको जवाफ दिँदै प्रहरी उपरीक्षक कार्कीले प्रहरीले स्थानीयलाई सुरक्षाको प्रत्याभूत गराउन बाँके प्रहरीले स्थानीयसँग हातेमालो गर्दै आएको बताउनु भयो । माथिल्लो निकायले दिएको गैरकानुनी आदेश पालना गर्न प्रहरी बाध्य नहुने र सुरक्षाका दृष्टिकोणले सबै समान रहेको प्रहरी उपरीक्षक कार्कीले जिकिर गर्नु भएको थियो ।

विभिन्न अपराधीका घटना, महिला हिंसा, लागु औषध लगायतका घटनामा कमि ल्याउन सबैको सहकार्य आवश्यक रहेको सार्वजनिक सुनुवाइमा बोल्ने वक्ताहरूले बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेले जनतालाई कस्तो सेवा प्रदान गर्दै आएको छ ? प्रहरी जनमुखी भयो भएन शान्ति सुरक्षाको प्रत्याभूत गराउन कत्तिको सफल भएको छ ? यी र यस्ता बिषयमा जनताको गुनासो के थियो ? भन्ने बिषयबस्तुमा छलफल गरिएको थियो । त्यस्तै सार्वजनिक सवारीमा ज्येष्ठ नागरिकलाई छुटको सट्टा अभद्र व्यवहार हुने गरेको, खाल्डाखुल्डी सडकले सास्ती खेप्नु परेको, पहुँचका आधारमा प्रहरीले पिडितको कुरा सुन्ने गरेको गुनासो गरेका थिए ।
कार्यक्रममा उपस्थित व्यक्तिहरुको गुनासोलाई सरोकारवालाले सम्बोधन गरेपछि प्रहरी निरीक्षक शिबा थापाले भन्नुभयो,’स्थानीय जनता र जनप्रतिनिधिको सहयोग भएमा समाजमा हुने जस्तो किसिमका अपराध विकृति नियन्त्रण गर्न हाम्रो टिम सक्रिय हुने छौँ ।’
नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले प्रहरी जनता र जनप्रतिनिधिको समन्वय भएमा समाजमा हुने अपराध विकृति आत्महत्या बलात्कार जस्ता घटनामा कमि ल्याउन सकिने बताउनु भयो । समाजमा अपराध विकृति फैलिन सक्ने भन्दै आ-आफ्नो ठाउँमा प्रहरी स्थानीय जनता जनप्रतिनिधि सक्रिय हुनुपर्ने शाहको भनाइ थियो ।
गाउँघरमा पछिल्लो समय घरेलु हिंसा, अपराध,चोरी डकैती र बलात्कार जस्ता घटना बढदै गएकोले प्रहरीले यस्ता बिषयमा कडाई गर्न शाहले आग्रह गर्नु भएको थियो । प्रहरीले सामाजिक विकृतिविरुद्ध जनचेतना फैलाउन, अपराध रोकथाम गर्न, जनताको जनधनको सुरक्षा व्यवस्थापन तथा सवारी दुर्घटना कम गर्न, लागु औषध नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्न जिल्लाभर कार्यक्रम संचालन भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक थापाले जानकारी दिनु भएको थियो । बाँके प्रहरीले गत साउन देखि हाल सम्म १७ वटा सार्वजनिक सुनुवाई गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिनु भयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य अशोक कोइराला, पत्रकार एवं अधिकारकर्मी आलम खान, शक्ति समूहकि प्रमुख निर्मला पौडेल, अधिकारकर्मी रेखा गुप्ता लगायत स्थानीय जनताहरुको सहभागिता रहेको थियो ।