काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्र्याउने चिनियाँ तस्करसँग सम्बन्ध पुष्टि हुँदासमेत सरकारले सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरालाई अनुसन्धानको दायरामा ल्याउन सकेको छैन ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महरा बाबुछोरामाथि यथेष्ठ प्रमाण जुटाएको छ । तर, प्रधानमन्त्री प्रचण्डको दल माओवादी केन्द्रका उपाध्यक्ष भएका कारण कृष्णबहादुर महरा र उनका छोरामाथि अहिलेसम्म अनुसन्धान गरिएको छैन । महरालाई कारबाही गर्न माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा समेत कुरा उठेको थियो ।
साथै, चिनियाँ तस्करको सामान छोड्न महरा बाबुछोराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा पटक पटक फोन गरेर दबाब दिएको कुरा महराले स्वीकार गरिसकेका छन् । भ्रष्टाचार र तस्करीमा जोसुकैको संलग्नता भए पनि नछाड्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले महरा प्रकरणमा किन खुट्टा कमाएका हुन् भन्ने प्रश्न माओवादीभित्रै उठेको छ । यस घटनाले माओवादी बदनाम त भएकै छ, गृहमन्त्री श्रेष्ठको नियतमाथि समेत प्रश्न उठेको छ ।
महरा र उनका छोराको सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भएको छ । अनुसन्धानमा संलग्न स्रोतका अनुसार कृष्णबहादुरको छोरनको नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको छ ।
सीआईबीले किटान गरेर प्रतिवेदनसमेत तयार पारेको छ । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका छन् । त्यही बेला महराका छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको देखिएको छ ।
राहुललाई सुन तस्कर दाओजिनले ६४ पटक र राहुलले दाओजिनलाई १३१ पटक उक्त सामान छुटाउन सम्पर्क गरेका छन् । हाल फरार अर्का चिनियाँ तस्कर असिनलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले अर्का फरार व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक फोन सम्पर्क गरेको देखिएको छ ।
राहुलले विमानस्थलका भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई एकपटक टेलिफोन गरेका थिए । राहुलले तस्करीको उक्त सुनबारे चासो राख्दै लिलामीको प्रक्रियाबारे जानकारी लिएको श्रेष्ठले प्रहरीलाई दिएको बयानमा बताएका थिए । तर, पनि महरा बाबुछोरा अझै अनुसन्धानको दायरामा आएका छैनन् ।
सिआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर भन्सार कार्यालयमा रहेको ई–सिगरेट लिलामी गर्न दबाब दिएको उल्लेख छ । ‘जफत भएको सामानका विषयमा आफूलाई राहुल महरा भनी चिनाउने व्यक्तिले फोन गरी जफत भएको उक्त इलेक्ट्रिक सिगरेटको लिलामी प्रक्रिया के हो ? कसरी हुन्छ ? भनी सोधपुछ गरेकोमा मैले निजलाई जफत भएको मालवस्तु मुद्दा तथा लिलामी शाखामा पठाइने र नियमानुसार लिलाम हुने वस्तु भए बोलकबोल सूचना प्रकाशित भई लिलाम गरिन्छ, लिलाम नगरी नष्ट गर्ने चिजवस्तु भए नियमानुसार नष्ट गर्ने गरिन्छ । सो सम्बन्धमा सम्बन्धित शाखामै बुझ्दा उचित हुन्छ भनी जानकारी गराएको थिएँ,’ श्रेष्ठले सिआईबीसँग गरेको कागजमा उल्लेख छ ।
राहुलले पनि चिनेजानेको मानिस भएका कारण फोन गरेको तर, तिनको धन्दा के थियो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताएका छन् । राहुलले टेलिफोन गरेर प्रक्रिया छिटो नभएपछि कृष्णबहादुर महरा स्वयंले पनि भन्सारका कर्मचारीलाई टेलिफोन गरेको तथ्य फेला परेको सिआईबी स्रोत बताउँछ । तर, महरा उपाध्यक्ष रहेको पार्टी माओवादीका अध्यक्ष एंवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महरालाई जसरी पनि पार्टी राजनीतिमा स्थापित गराउने चाहनाले पनि अनुसन्धान नगर्न दबाब परेको स्रोत बताउँछ ।
‘धेरैखाले तारतम्य मिलाइयो भन्ने हामीले बुझेका छौँ । त्यसैका कारण प्रमाण भएर पनि अनुसन्धान हुन सकेको छैन,’ सिआईबीका एक अनुसन्धान अधिकृतले भने ।
सिआइबीको प्रतिवेदनमा महराका बाबुछोरा र सुन आयातकर्ता चिनियाँ नागरिक एवं अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसहित नै उल्लेख गरेको छ । भन्सारमा रहेको ई–सिगरेट सुन ल्याउने समूहमा चिनियाँ नागरिक लुई, वाङ दाओजिङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने, राहुल महरालगायतले सम्पर्कसूत्रको काम गरेको प्रमाण सिआईबीले जुटाएको छ ।
२०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका एक चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी इलेक्ट्रिक सिगरेट (भेप) भित्र सुन लुकाएर ल्याएका थिए । त्यतिबेला भन्सार विभागले ई–सिगरेट बरामद गरेर यात्रुलाई छाडेपछि ती चिनियाँ नागरिकले विभिन्न व्यक्तिलाई प्रयोग गरेर महरा बाबुछोराको सम्पर्कमा पुगेका थिए ।
भन्सारका नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत र गार्डसमेत मिलेर ई–सिगरेटमा भएको सुन निकाली करिब ९ करोड मूल्य पर्ने सुन करिब ६ करोड रूपैयाँमा बिक्री गरेको सिआईबीले पत्ता लगाएको छ ।
पुस १० मा सुन लिएर दुबई हुँदै आउने चिनियाँ नागरिक सातपटकसम्म नेपाल आएपछि उनी सुन तस्करीमा संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ । सुन बेच्ने योजनाकार भन्सार एजेन्ट दिनेश बस्नेत रहेको प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ । सिआइबीले बुझाएको प्रतिवेदनअनुसार विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा खड्कासँग मिलेर बस्नेतले नौ किलो सुन चोरी गरी बिक्री गरेका थिए । तर त्यो सुन गायब पार्नुअघि नै उनीहरूले महरा बाबुछोराको सोर्स लगाएर लिलामीमार्फत फिर्ता लैजाने कोसिस गरेका थिए ।
२०७९ माघ २९ गते प्रहरीले मुचुल्का गरी अनुसन्धानका लागि दुईवटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान इलेक्ट्रिक सिगरेट पठाएको थियो । आगो नसल्किने उक्त सिगरेटलाई पटकपटक स्क्यान गर्दा बाकसमा चुरोटबाहेक अरू कुनै बहुमूल्य वस्तु नभएको ठहरिएपछि भन्सारका कर्मचारीले त्यसलाई गोदाममा थन्क्याएर राखेका थिए ।
सामान्यतः जफत गरिएका सामानहरू एकत्रित गरी एकदुई महिनामा लिलामीका लागि पठाउने अभ्यास रहेकाले उक्त सामान पनि करिब ५० दिनदेखि गोदाममै थियो । भन्सार विभागले लिलामीका लागि सामान तयार गर्दा महरा बाबुछोराले चासो राखेपछि सिआइबीलाई अनुसन्धानका लागि पठाइएको थियो ।
सीआईबीले दुई महिना लगाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीले अनुसन्धान पूरा नगरी प्रतिवेदन बुझाएमा थप अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले प्रतिवेदन नै फिर्ता पठाउन सक्छ । सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदन हेरेर महरा बाबुछोराको संलग्नताबारे प्रहरीलाई थप प्रमाण जुटाउन निर्देशन दिन सक्थ्यो । तर, राजनीतिक संरक्षणमा त्यो पनि हुन सकेन ।
साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुुनमा पक्राउ परेका चिनियाँ नागरिकसँग पनि महरा र उपमहासचिव वर्षमान पुनसँग उठबस रहेका तस्बिरहरू सार्वजनिक भएका थिए । ती तस्बिरबारे माओवादी केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले प्रश्न उठाएपछि पुनले आफू अनुसन्धानका लागि तयार रहेको र छानबिनका लागि समिति बनाउन आग्रह गरेका थिए । तर, महरा यस सम्बन्धमा बैठकमा चुइक्कसम्म बोलेका थिएनन् ।
सुनकाण्डबारे चर्चा परिचर्चा भएपछि महराले प्रष्टिकरण दिएका थिए । त्यसमा पनि चिनियाँ व्यापारी सामान्य चिनजानको व्यक्ति भएकाले घटना के भएको हो भनेर चासो राखेको महरालेउल्लेख गरेका छन् । विभिन्न कोणबाट महरामाथि प्रश्न उठ्दासमेत सरकारले अनुसन्धानको दायरामा नल्याउनुले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको नियतमाथि आशंका उब्जिएको छ ।