बाँके । बाँकेको जानकी गाउँपालिका–२ का कृपाराम बर्मा केही वर्ष अघिसम्म परम्परागत रूपमा वर्षको दुई बाली मात्र अन्न फलाउँथे। परिवारलाई खान पुग्ने जति राखेर बचेको धान र गहुँ बेच्ने उनको दिनचर्या त थियो, तर व्यावसायिक रूपमा ठूलो परिमाणमा आम्दानी गर्न उनी सक्दैनथे। मेहनत बढी लाग्ने तर उत्पादन कम हुने पुरानै शैलीको धान, गहुँ, तोरी र मसुरो खेती उनको बाध्यता थियो ।
तर, अहिले कृपारामको खेतबारीको दृश्य र उनको खेती गर्ने तरिका दुवै फेरिएको छ । परम्परागत औजार थन्किएका छन्, खेतमा आधुनिक मेसिनरी गुन्जिन थालेका छन्। उन्नत जातको बीउ, वैज्ञानिक रोगोपचार र कीटनाशक औषधिको सही प्रयोगले उनको मेहनत मात्र घटाएको छैन, उत्पादनमा समेत ठूलो फड्को मारेको छ।
वर्षमा तीन बालीः किसानका लागि ’बोनस’
सामान्यतः मौसम अनुसार वर्षमा दुई बाली मात्र उत्पादन हुने यस क्षेत्रमा कृपारामले अहिले वर्षमा तीन बाली (एक बाली गहुँ÷तोरी र दुई बाली धान) फलाउन थालेका छन्। माघमा बीउ उमारेर फागुन–चैतमा रोपिने ’चैते धान’ उनको जीवनमा नयाँ खुसी लिएर आएको छ।
“चैते धान त हाम्रो लागि बोनस जस्तै हो। गहुँ पाकिसकेपछिको खाली समयमा अर्को आम्दानी गर्ने दरो बाटो बनेको छ,“ कृपाराम उत्साहका साथ भन्छन्।
गाउँपालिकाको सिँचित क्षेत्र प्रवद्र्धन कार्यक्रम अन्तर्गत उनले यसपटक १० कठ्ठा क्षेत्रफलमा पहिलो पटक चैते धान लगाएका छन्। बर्खे धानभन्दा यसले बढी उत्पादन दिने र किसानको जीवनस्तर सुधार्ने उनको विश्वास छ ।
खाद्यान्न किन्ने खर्च जोगियो, किसान मख्ख
कृपाराम मात्र होइन, जानकी–२ बनकटवाका साबित राम खटिक पनि चैते धान रोप्न पाएकोमा निकै खुसी छन् । कुनै समय उनको परिवारको सबैभन्दा ठूलो खर्च खाद्यान्न खरिदमा हुन्थ्यो ।
“धान–चामल सधैं किन्नुपथ्र्यो, बर्खामा केही फल्दैनथ्यो,“ पुराना दिन सम्झिँदै खटिक भन्छन्, “अहिले बर्खाको भन्दा बढी हामी चैते धान फलाउँछौँ। यसमा कुनै घाटा छैन।“ पालिकाको सहयोगमा उनले पनि १० कठ्ठामा चैते धान खेती सुरु गरेका छन्, जसले उनको आर्थिक भार निकै कम गरिदिएको छ।
पालिकाको अग्रसरताः अध्ययन, माटो परीक्षण र अनुदान
जानकी–२ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताका अनुसार यस क्षेत्रमा चैते धानको प्रचुर सम्भावना छ। विगतमा अध्ययन र प्राविधिक ज्ञानको अभावले सोचेजस्तो उत्पादन हुन नसके पनि अहिले गाउँपालिका आफैँले माटो परीक्षण र अध्ययन गराई किसानलाई अनुदान दिन थालेको छ।
गाउँपालिकाका कृषि शाखा प्रमुख मनोज मण्डलका अनुसार पालिकामा पहिलो पटक ५५ कठ्ठा क्षेत्रफलमा चैते धान खेती विस्तार गरिएको छ। बजारमा विभिन्न बीउ उपलब्ध भए पनि यहाँका किसानले चैते–४, चैते–५, हरदिनाथ–१ र हरदिनाथ–४ जातका बीउ बढी रुचाएका छन् । किसानलाई अनुदानमा खेती गर्ने उपकरण देखि बिउ दिदै आएको शाखा प्रमुख मण्डलको भनाई छ ।
धानको अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँले यो धान सामान्य धानभन्दा डेढ गुणा बढी फल्ने दाबी गरे । किसानको उत्साहलाई थप ऊर्जा दिन आगामी आर्थिक वर्षको सुरुवातमै बोरिङको व्यवस्था गर्ने र सिक्टा सिँचाइको नहरलाई जानकी गाउँपालिकासम्म विस्तार गर्न पहल गर्ने प्रतिबद्धता उनले जनाए। यस्तै, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले चैते धानको उत्पादनबाट उत्साहित हुँदै ३ करोड रुपैयाँ बराबरको लागतमा बोरिङ जडान गरी छिट्टै सिँचाइको समस्या समाधान गरिने जानकारी दिए ।
चुनौतीको पहाडः ’विद्युत अभाव र न्यून भोल्टेज’
चैते धानले खेती थपे पनि सिँचाइको चुनौती भने अझै पूर्ण रूपमा हल हुन सकेको छैन। धानबालीले उच्च पानी खपत गर्ने भए पनि विद्युतको उचित व्यवस्था नहुँदा किसान चिन्तित छन्।
स्थानीय किसान प्रल्हाद कुर्मी गुनासो गर्छन्ः
“बिजुलीको पावर नै खेतसम्म पुग्दैन। एक बिघा धान सिँचाइ गरेपछि अर्को बिघाका लागि ३ दिनसम्म कुर्नुपर्ने अवस्था छ ।“
यस सिजनमा पानी कम पर्ने र खेतीयोग्य जमिनमा बिजुली पुगे पनि भोल्टेज नपुग्ने समस्याले किसानलाई पिरोल्ने गरेको छ ।
जनप्रतिनिधि र प्राविधिक टोलीद्वारा स्थलगत अनुगमन
चैते धान खेतीको प्रभावकारिता र किसानका समस्या बुझ्न गाउँपालिकाको उच्च टोलीले हालै स्थलगत अनुगमन गरेको छ ।
अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, वडा नं. २ का अध्यक्ष गुप्ता, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारी, कार्यपालिका सदस्य राम अचल धोबी, आर्थिक विकास समिति संयोजक कमला देवी यादव, कृषि शाखा प्रमुख मण्डल, कृषि अधिकृत असिम पौडेल, कृषि प्राविधिक दिप बहादुर कार्की र सब–इन्जिनियर लाल बहादुर पुन मगर सहभागी थिए ।
सिँचाइ र भोल्टेजको समस्यालाई तत्काल समाधान गर्न सके बाँकेको जानकी गाउँपालिका चैते धानको हब बन्ने र किसानहरू आर्थिक रूपमा आत्मनिर्भर बन्ने गतिलो संकेत देखिएको छ ।