बाँके । बाँकेको जानकी गाउँपालिकामा पालिका स्तरीय खेलकुद विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसहित तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता आज बुधबारदेखि सुरु भएको छ। श्री कन्या माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगिताले गाउँपालिकाभित्र खेल प्रतिभा पहिचान र युवालाई सकारात्मक गतिविधिमा जोड्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष छब्बन खाँले ब्याटिङ गर्दै तथा सामाजिक विकास समितिका संयोजक राम अचल धोबीले बलिङ गर्दै औपचारिक रूपमा गर्नुभएको थियो। उद्घाटनसँगै मैदान खेलाडी, खेलप्रेमी र स्थानीय दर्शकको उत्साहले भरिएको थियो।
प्रतियोगितामा गाउँपालिकाभित्रका कुल १६ वटा क्रिकेट टोली सहभागी रहेका छन्। खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का नियमअनुसार लेदर बल प्रयोग गरी सञ्चालन भइरहेको आयोजक समितिले जनाएको छ। प्रारम्भिक चरणका खेलहरू लिग प्रणालीमा हुनेछन् भने उत्कृष्ट टोलीहरू सेमिफाइनल हुँदै फाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताअन्तर्गत दैनिक दुई खेल सञ्चालन गरिने व्यवस्था गरिएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद रु ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु २५ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष राम प्यारी यादव ले खेलकुदले युवामा अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास गर्ने बताउँदै पालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो।
कार्यक्रमको समापन गर्दै गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष टिकानाथ यादवले खेलकुद गाउँपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताउँदै आगामी आर्थिक वर्षमा खेल क्षेत्रका लागि थप बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पालिका स्तरबाट नियमित प्रतियोगिता सञ्चालन गरी ग्रामीण क्षेत्रका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य रहेको पनि बताउनुभयो।
त्यसैगरी शिक्षा शाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णा कुमारी भण्डारीले खेलकुद शिक्षासँगै जोडिएको महत्वपूर्ण पक्ष भएकाले विद्यार्थी र युवालाई खेलप्रति आकर्षित गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उद्घाटन कार्यक्रममा उपाध्यक्ष राम प्यारी यादव, वडा अध्यक्ष एवं प्रवक्ता टिकानाथ यादव, सामाजिक बिकास समितिका संयोजक राम अचल धोबी, निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णा कुमारी भण्डारी, योजना शाखा प्रमुख शोभा पौडेल,प्रहरी बरिष्ठ नायब निरीक्षक लोकेन्द्र बहादुर कार्की , कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक मालती कुमारी शाही, सहायक शिक्षा अधिकृत झुमी ओली, गाउँपालिका अध्यक्षका निजि सल्लाहकार सोहराब इद्रीसी, कार्यपालिका सदस्य कान्ति कादु, निर्माला हरिजन, कमला देवी यादव, तारा वती खटिक लगायतको सहभागिता रहेको थियो ।
स्थानीय स्तरमै खेलकुद गतिविधि विस्तार गर्दै युवालाई सकारात्मक दिशामा अघि बढाउने उद्देश्यले आयोजना गरिएको अध्यक्ष कप क्रिकेट प्रतियोगिताले जानकी गाउँपालिकामा खेल संस्कृतिको विकासमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।