काठमाडौँ । गृह मन्त्रालयले यस वर्षको तिहार पर्वमा सुरक्षित, मर्यादित र अनुशासित ढङ्गले २४सै घण्टा देउसी–भैलो सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।
नेपालीहरूको मौलिक सांस्कृतिक तथा धार्मिक पर्व तिहारलाई उल्लासमय र व्यवस्थित बनाउने उद्देश्यले सचिवस्तरीय निर्णयअनुसार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाइएको हो।
मन्त्रालयले जारी गरेको निर्देशनअनुसार मौलिक कला–संस्कृतिको संरक्षण र सामाजिक सद्भाव अभिवृद्धि हुने गरी अनुशासित रूपमा परम्परागत देउसी–भैलो खेल्न सहजीकरण गरिनेछ।
देउसी–भैलो कार्यक्रमलाई पूर्ण रूपमा स्वेच्छिक र मर्यादित बनाउनुपर्ने तथा कसैलाई पनि जबर्जस्ती चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने व्यवस्था कडाइका साथ लागू गर्न भनिएको छ।
यसैगरी कुनै पनि जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति घृणा तथा द्वेष फैलाउने खालका अश्लील गीत, सङ्गीत, नृत्य वा नाराहरूको प्रयोगमा पूर्ण रोक लगाउन प्रशासनलाई निर्देशन दिइएको छ।
चाडपर्वका नाममा जुवातास खेल्ने, सार्वजनिक स्थलमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक वा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने गतिविधि नियन्त्रण गर्न विशेष निगरानी राखिनेछ।
ध्वनि प्रदूषण नियन्त्रणका लागि अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा ध्वनि उपकरणहरू बजाउन रोक लगाइएको छ। विशेष गरी अस्पताल र वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्र वरपर देउसी–भैलो खेल्दा विशेष सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।
साथै, सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै जथाभावी फोहोरमैला नगरी वातावरणीय स्वच्छता कायम राख्न पनि सबैमा अनुरोध गरिएको छ।
चाडपर्व तथा देउसी–भैलो सञ्चालनका क्रममा कुनै शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा कुनै समस्या आइपरेमा तत्काल नजिकको प्रहरी नियन्त्रण कक्ष (१००) वा आपत्कालीन कार्य सञ्चालन केन्द्रको टोल फ्री नम्बर १२३४ मा सम्पर्क गरी जानकारी गराउन गृह मन्त्रालयले सर्वसाधारणमा अनुरोध गरेको छ।