समावेशी आवाजलाई थप सशक्त बनाउन कोहलपुरमा सार्वजनिक सेवा प्रसारणको तालिम सुरु
७ फाल्गुन २०८२, बिहीबार
बाँके । सार्वजनिक सेवा प्रसारणलाई अझ समावेशी, प्रभावकारी र लक्षित वर्गसम्म पहुँचयोग्य बनाउने उद्देश्यसहित कोहलपुरमा दुई दिने “समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण तालिम” आजदेखि सुरु भएको छ। सार्वजनिक सेवा प्रसारण नेपालको आयोजनामा सञ्चालन भएको तालिमले समाचार तथा कार्यक्रम उत्पादन र प्रसारण प्रक्रियामा गुणस्तरीय निखार ल्याउने अपेक्षा गरिएको छ।
दुई दिन सम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै सञ्चालक समितिका अध्यक्ष डा. महेन्द्र बिष्टले रेडियो नेपाल र नेपाल टेलिभिजन बाट प्रसारण भइरहेका समाचार तथा कार्यक्रमलाई अझ प्रभावकारी र समावेशी बनाउने दिशामा तालिम महत्वपूर्ण सावित हुने बताउनुभयो। उहाँले विविध जातजाति, भाषाभाषी र समुदायबीच सहिष्णुता सुदृढ गर्न समावेशी प्रसारणको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
अध्यक्ष बिष्टले समावेशीतामूलक कार्यक्रमहरू लक्षित समुदायसम्म कत्तिको पुगेका छन् र त्यसको प्रभावकारिता कस्तो छ भन्ने विषयमा नियमित अनुगमन आवश्यक रहेको पनि जिकिर गर्नुभयो।
कार्यक्रममा रेडियो नेपालका निमित्त योजना, विकास तथा विस्तार महाशाखा प्रमुख सुरेन्द्रप्रसाद यादवले रेडियो नेपालले स्थापना कालदेखि नै बहुभाषिक समाचार र कार्यक्रम प्रसारण गर्दै आएको उल्लेख गर्दै समावेशी प्रसारणलाई संस्थाको महत्वपूर्ण उपलब्धिका रूपमा चित्रण गर्नुभयो । हाल रेडियो नेपालबाट २६ भाषामा समाचार र २५ भाषामा कार्यक्रम प्रसारण भइरहेको जानकारी दिँदै उहाँले सामग्री सुधार, सिद्धान्त र नीतिमा एकरूपता ल्याउन तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
रेडियो नेपालका उपनिर्देशक जनार्दन बिष्टले सहजिकरण गर्दै नेपालमा समावेशी प्रसारणको सुरुवात रेडियो नेपालबाट भएको स्मरण गराउँदै बदलिँदो समयसँगै सामग्रीलाई परिमार्जन गरी नयाँ पुस्तासम्म सशक्त रूपमा पुर्याउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँका अनुसार तालिमले समाचारकर्मीको क्षमता अभिवृद्धि गर्नुका साथै समावेशी प्रसारणलाई थप प्रभावकारी बनाउनेछ ।
कार्यक्रममा रेडियो नेपाल कर्णालीका प्रमुख विजय बर्मा र कोहलपुर टेलिभिजन प्रमुख निराजन खनालले पनि समावेशी सञ्चारमार्फत समाजका सबै वर्ग र आवाजलाई समान स्थान दिनु आजको आवश्यकता भएको धारणा राख्नुभयो।
कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशअन्तर्गत सार्वजनिक सेवा प्रसारण नेपालमा कार्यरत रेडियो नेपाल र नेपाल टेलिभिजनका २५ जना पत्रकार सहभागी रहेको तालिममा समावेशी सामग्री उत्पादनसँगै निर्वाचनलाई मर्यादित र जिम्मेवार ढंगले सम्पन्न गराउन सञ्चारको भूमिकाबारे सहजिकरण गरिनेछ ।
समावेशी सञ्चारमार्फत समाजका सबै वर्ग र आवाजलाई समान स्थान दिने लक्ष्यसहित सुरु गरिएको यो तालिम कार्यक्रमले सार्वजनिक प्रसारणको गुणस्तर अभिवृद्धिमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।