काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्षसम्म जाने बताएका छन् ।
धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले भने, ‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।’
१८औं शताब्दीमा कार्ल मार्क्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ रु नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ्नु भनेको स्मरण गर्दै दुनियाँले के भन्छ त्यतातिर भन्दा पनि राम्रो गर्दै जाने तिर आफ्नो ध्यान रहेको प्रधानमन्त्रीले बताए ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भएपनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति भएकाहरूले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको भनाई थियो ।
आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै जनताको पक्षमा गरेको कामको जनताले नै फैसला गर्ने पनि उनले बताए ।