नेपालको राजनीतिक इतिहास हेर्ने हो भने, आन्दोलनमा सधैं वञ्चित समुदायको आँशु, रगत र बलिदान मिसिएको पाइन्छ। तर जब सत्ता बाँडफाँट हुन्छ, ती समुदायलाई ‘भुलिन्छ’।
थरु, मुस्लिम र अन्य पिछडिएका वर्गलाई पटक–पटक छेउतिर धकेलियो, उनीहरूको संघर्षलाई केवल भाषणमा सीमित गरियो।
मुस्लिम समुदायको पीडा अझै गहिरो छ।
शिक्षामा पछि पारिएको, रोजगारीमा बेवास्ता गरिएको, अवसरमा ढोका बन्द गरिएको—यी घाउहरूले मुस्लिम समाजलाई चिरिएको छाती जस्तै बनाइदिएको छ।
मुस्लिम युवाले विदेशमा पसिना बेचेर देशलाई वैदेशिक मुद्राको श्रोत बनाइरहे पनि, आफ्नो देशमा उनीहरूलाई सम्मानित स्थान अझै किन दिइँदैन?
मुस्लिम आमा–बुबाले छोराछोरीलाई पढाउन रात–दिन संघर्ष गर्दा पनि, उनीहरूको सपना राज्यले किन देख्दैन?
यस्तो अवस्थामा, मुस्लिम समुदायले एउटा नामलाई आफ्नो आवाज, आफ्नो आशा र आफ्नो पहिचानको प्रतीक ठानेको छ—त्यो नाम हो मोहना अन्सारी।
मोहना अन्सारी केवल एक व्यक्तिको नाम होइन, यो मुस्लिम महिलाको आत्मसम्मान, समानताको अधिकार र भविष्यको भरोसा हो।
मानवअधिकारको क्षेत्रमा उनले देखाएको संघर्ष, आवाजविहीनलाई आवाज दिने साहस, अन्यायविरुद्ध उभिन सक्ने दृढता—यी सबै कारणले उनी आज मुस्लिम मात्र नभई सम्पूर्ण वञ्चित समुदायको प्रतिनिधि पात्र बनेकी छन्।
आज अन्तरिम सरकारको बहस चलिरहेको छ।
यदि यो सरकार साँच्चै समावेशी हुन चाहन्छ भने, मुस्लिम समुदायलाई छेउतिर राखेर होइन, मोहना अन्सारीलाई मन्त्री मण्डलमा सहभागी गराएर आफ्नो प्रतिबद्धता प्रमाणित गर्नुपर्छ।
मुस्लिम महिलाले राजनीतिमा नेतृत्व लिन सक्छिन् भन्ने सन्देश मुलुकभर दिन जरुरी छ।
समाजले उनीहरूलाई केवल ‘घरभित्रको सीमित भूमिका’ होइन, राष्ट्रको भविष्य निर्माण गर्ने ‘निर्णायक नेतृत्व’को अवसर दिनुपर्ने बेला आएको छ।
मोहना अन्सारी मन्त्री मण्डलमा सहभागी हुँदा त्यो मात्र मुस्लिम समुदायको विजय हुने छैन, त्यो नेपालको लोकतन्त्रको वास्तविक जीत हुनेछ।
यदि फेरि पनि मुस्लिम, थरु र पिछडिएका वर्गलाई बेवास्ता गरियो भने, यो केवल राजनीतिक भूल हुनेछैन—यो न्यायको हत्या हुनेछ र, इतिहासले माफी दिने छैन।
यी समुदायको रगत, पसिना र आँशुबाटै देश बाँचिरहे पनि सत्ताको भागबन्डामा उनीहरूलाई किन हेला गरिन्छ?
थरु किसानले उर्वर भूमि जोतेर देशलाई अन्नदान बनाइरहेको छ, मुस्लिम व्यापारीले सीप र मेहनतले बजार चलाइरहेका छन्, पिछडिएका वर्गले इँटा, बालुवा, पसिना बेचेर सहर उठाइरहेका छन्—तर जब सत्ता बाँडफाँटको कुरा आउँछ, उनीहरूको नाम सूचीमा हराउँछ।
यो केवल अन्याय मात्र होइन, यो राष्ट्रिय अपराध हो। जसले पिँढी दरपिँढी विभेदको जन्जीर लगाइरहेको छ।
थरु युवाले आफ्नो पहिचान खोज्दा गोली खानुपर्छ, मुस्लिम आमाबाबुले छोराछोरीलाई शिक्षा दिन सरकारी ढोका ठोक्दा भेदभावको स्वाद चाख्नुपर्छ, पिछडिएका वर्गले काम गर्दा पनि सम्मान होइन अपमान पाउनुपर्छ।
आज अन्तरिम सरकार बनाउने कुरा चलिरहेको छ। यो केवल राजनीतिक दलहरूको सत्ता बाँड्ने थलो होइन, यो अवसर हो—वास्तविक समावेशी लोकतन्त्रको बीज रोप्ने।
यदि यसपटक पनि मुस्लिम, थरु र पिछडिएका क्षेत्रलाई बेवास्ता गरियो भने, यो देश फेरि एक पटक सत्ताको सानो घेराभित्र मात्र सीमित हुनेछ। यसले फेरि आन्दोलन, असन्तोष र विभाजनको बीउ रोप्नेछ।
त्यसैले, यो सरकारमा उनीहरूको सहभागिता केवल ‘राजनीतिक सजावट’ होइन, ‘राष्ट्रिय आवश्यकता’ हो।
समान अवसर र सहभागिता बिना लोकतन्त्र अधुरो हुन्छ।
थरु, मुस्लिम र पिछडिएका समुदायलाई अन्तरिम सरकारमा उचित स्थान नदिइए लोकतन्त्रको अर्थ ‘केवल शक्तिशालीहरूको शासन’ हुनेछ।
👉 आज जरुरी छ—अन्तरिम सरकारमा थरु, मुस्लिम र पिछडिएको वर्गलाई सम्मानजनक स्थान।
👉 आज अझै जरुरी छ—मोहना अन्सारी जस्ता पात्रलाई मन्त्री मण्डलमा ल्याएर मुस्लिम समुदायको हृदयको पीडा सम्बोधन गर्ने।
समाजले धेरै आशा बोकेको छ। मुस्लिम आमा–बाबुको आँखा अहिले पनि आफ्ना छोराछोरीको भविष्य सुरक्षित गर्ने नेतृत्वको प्रतीक्षा गरिरहेको छ।
अन्तरिम सरकारले त्यो आँसु पुछ्न सक्छ—तर केवल शब्दले होइन, मोहना अन्सारीलाई मन्त्री बनाएर।