सडक मजदुरदेखि जेष्ठ नागरिकसम्मको भरोसा बन्दै दिपेन्द्र बिष्ट

यूथ टुडे समाचारदाता 3272+ समाचार ( )
१५ माघ २०८२, बुधवार

बाँके । नेपाली कम्युनिष्ट पार्टीबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट चुनावी प्रचारलाई नारामा सीमित नराखी जनताको दैनिकीसँग प्रत्यक्ष जोड्दै नेपालगन्जका विभिन्न वडामा सक्रिय रूपमा खटिनुभएको छ। बिहानको घामसँगै घरदैलो सुरु गर्ने बिष्ट साँझ परिसक्दा पनि चोक–चौराहा, सडक पेटी र गल्ली–गल्लीमा भेटिन्छन् जहाँ राजनीति होइन, मान्छेका कथा छन् । 

सडक पेटीमा पसिना बगाउँदै जीविका चलाइरहेका मजदुर, सानो व्यापारमा निर्भर पसले, काम खोज्दै भौँतारिएका युवा र जीवनको उत्तरार्धमा पुगेका जेष्ठ नागरिक सबैसँग बिष्ट उस्तै गरी बस्नुहुन्छ, सुन्नुहुन्छ र मन साट्नुहुन्छ। उहाँले तारा चिन्हमा मतदान गर्न आग्रह मात्र गर्नुहुन्न, उनीहरूको दुःख–सुखलाई आफ्नो एजेन्डा बनाउने प्रतिबद्धता जनाउनुहुन्छ । 

जेनजी युवा र खेलाडीहरूसँगको भेटमा बिष्टले रोजगारी, उद्यमशीलता, शिक्षा र खेलकुदलाई अवसरसँग जोड्ने स्पष्ट खाका सुनाउनुभयो। सडक किनारमा बसेका बेसहारा र श्रमिकसँग घुँडा टेकेर कुरा गर्दै उहाँले ज्याला, श्रमिक सुरक्षा, उजुरी सुन्ने संयन्त्र र सम्मानजनक जीवनका सवालमा संसदमा आवाज उठाउने वाचा गर्नुभयो । 

जेष्ठ नागरिकसँगको भेटमा उहाँको स्वर अझै भावुक बन्यो,स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र राज्यबाट पाउनुपर्ने सम्मानबारे गहिरो चासो व्यक्त गर्दै उम्मेदवार दिपेन्द्र बिष्टले भन्नुभयो,“मलाई कुर्सीको राजनीति चाहिएको छैन, मलाई मान्छेको जीवन बदल्ने राजनीति चाहिएको हो। सडक पेटीमा बस्ने श्रमिकदेखि गाउँ–बस्तीका गरिबसम्मको पीडा सुन्न नसक्ने मान्छे संसदमा पुग्नुको अर्थ हुँदैन। जनताको दुःख–सुखसँग नजोडिने राजनीति खोक्रो हुन्छ ।”

स्थानीयवासीहरूका अनुसार बिष्टको सरल व्यवहार, निरन्तर उपस्थिति र संवेदनशीलताले उनलाई ‘नेताभन्दा आफ्नै मान्छे’ बनाएको छ।

“उहाँ कुरा मात्रै गर्नुहुन्न, सुन्नुहुन्छ,” एक स्थानीय मजदुरले भने, “यही कारण हामीलाई भरोसा लागेको छ।”

नेपालगन्जका वडावडामा जारी यो तीव्र जनसम्पर्क अभियानले दिपेन्द्र बिष्टलाई गरिब, निमुखा, श्रमिक र गाउँ–बस्तीका जनताको प्रिय उम्मेदवारका रूपमा उभ्याएको छ। घरदैलोमा देखिएको उत्साह र सडकमा सुनिएको आशाको स्वरले बाँके क्षेत्र नं. २ मा जनतासँगै अघि बढ्ने राजनीतिको संकेत स्पष्ट देखाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार