बाँके । सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै लायन्स क्लब अफ नेपालगञ्ज जीवनले खजुरास्थित बाल संरक्षण गृहमा रहेका १८ जना बालबालिकाका लागि १२ हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ।
बालबालिकाको पोषण तथा दैनिक आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको खाद्य सामग्री क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा हस्तान्तरण गरिएको हो।
कार्यक्रममा क्लबका अध्यक्ष मोहम्मद ज्याउल हक हल्वाइले मानवीय सेवा र सामाजिक उत्तरदायित्व क्लबको प्रमुख उद्देश्य रहेको बताउनुभयो। उहाँले बालबालिकाको संरक्षण, हेरचाह र उज्ज्वल भविष्य निर्माणमा समाजका सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। सानो सहयोगले पनि बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने भएकाले सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिइने उहाँको भनाइ थियो ।
त्यसैगरी क्लबका संस्थापक अध्यक्ष जीवन शर्माले बालबालिका समाजका भविष्य र अमूल्य सम्पत्ति भएकाले उनीहरूको संरक्षण तथा आवश्यकतामा सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले बाल संरक्षण गृहमा रहेका बालबालिकालाई सहयोग गर्नु केवल खाद्य सामग्री प्रदान गर्नु मात्र नभई उनीहरूप्रति माया, अपनत्व र सामाजिक जिम्मेवारी व्यक्त गर्नु पनि भएको उल्लेख गर्नुभयो। मानवीय सेवाका यस्ता कार्यले समाजमा सहयोग, सद्भाव र सकारात्मक सोचको विकास गर्ने विश्वास व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
लायन्स क्लब अफ नेपालगञ्ज जीवनले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न सहयोगात्मक गतिविधि सञ्चालन गर्दै आएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष जीवन शर्मा, निवर्तमान अध्यक्ष तेजेन्द्र बी.के., प्रथम उपाध्यक्ष डा. प्रकाश नाग तथा सल्लाहकार बसन्त शर्मालगायतको सहभागिता रहेको थियो।