नेपालगञ्ज । लायन्स क्लब अफ नेपालगञ्ज जीवको लायन वर्ष २०२६–२०२७ का लागि आन्तरिक पद हस्तान्तरण तथा चार्टर नाइट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा निवर्तमान अध्यक्ष तोजेन्द्र बिकले नवनिर्वाचित अध्यक्ष मोहम्मद ज्याउल हकलाई औपचारिक रूपमा पद हस्तान्तरण गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
नयाँ कार्यसमितिअन्तर्गत अध्यक्षमा मोहम्मद ज्याउल हक, प्रथम उपाध्यक्षमा डा. प्रकाश नाग, द्वितीय उपाध्यक्षमा सन्तोष बाबु सुवेदी, तृतीय उपाध्यक्षमा डा. राहुल मिश्रा, सचिवमा जगदीश रोकाया तथा कोषाध्यक्षमा पवित्र प्रकाश शर्मा निर्वाचित हुनुभएको छ।
कार्यक्रमका प्रमुख अतिथि मल्टिपल कोअर्डिनेटर तथा पूर्व डिष्ट्रिक्ट गभर्नर लायन मधुसुदन रिजालले लायन्स सन् १९१७ देखि विश्वभर मानवीय सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको स्मरण गराउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघ (यूएन) मा लायन्सको विशिष्ट पहिचान स्थापित भएको उल्लेख गर्दै संकट, विपद् र पीडितको सेवामा लायन्स सधैं अग्रपंक्तिमा उभिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
विशेष अतिथि निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन ज्ञानेन्द्र श्रेष्ठ तथा वर्तमान द्वितीय डिष्ट्रिक्ट गभर्नर लायन चिन्तामणि धितालले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सामाजिक सेवाका अभियानलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो।
पदभार ग्रहणपछि अध्यक्ष मोहम्मद ज्याउल हकले मानवता, सेवा र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर क्लबलाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समाजका विपन्न, असहाय तथा आवश्यकता भएका समुदायको सेवामा क्लबलाई निरन्तर सक्रिय राख्ने बताउनुभयो।
कार्यक्रममा पत्रकार कमल न्यौपाने, मधु पौडेल, डा. प्रकाश नागलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरिएको थियो। साथै, तीन वर्षअघि स्थापना भएको लायन्स क्लब अफ नेपालगञ्ज जीवका संस्थापक जीवन शर्मालाई क्लब स्थापना र संस्थागत विकासमा पुर्याएको योगदानको कदरस्वरूप विशेष सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा लायन्सकर्मी, समाजसेवी, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । समारोहले नयाँ नेतृत्वमार्फत क्लबले आगामी वर्ष मानवीय सेवा, सामाजिक उत्तरदायित्व र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ।