कोहलपुर । दशैँको पूर्वसन्ध्यामा समता स्कुल कोहलपुरले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले विद्यार्थीहरूलाई टीका, जमरा र दक्षिणासहित शुभकामना दिँदै बिदाइ गरेको हो।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका शिक्षा अधिकृत बलबहादुर विश्वकर्माले बालबालिकाको सर्वाङ्गीण विकासमा अतिरिक्त क्रियाकलापको महत्त्वपूर्ण भूमिका रहने बताए। उनले न्यूनतम तथा सबै कक्षामा समान शुल्कमा शिक्षा प्रदान गर्दै आएको समता स्कुलको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै शैक्षिक गुणस्तर थप सुधार गर्नुपर्नेमा जोड दिए।
विद्यालयका कार्यकारी निर्देशक रवि रोकायाले विद्यार्थीको चौतर्फी विकासका लागि अभिभावकसँग नियमित संवाद गर्दै आएको बताए। उनले विद्यालयको विकासमा सहयोग गर्ने शिक्षक, अभिभावक, राजनीतिक दल तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरे।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमबहादुर वली, अभिभावक सङ्घका अध्यक्ष दाने दर्जीलगायत अभिभावक तथा सरोकारवालाहरूको सहभागिता थियो।