ताजिया विसर्जनसँगै मोहर्रम पर्व सम्पन्न

यूथ टुडे समाचारदाता 3450+ समाचार ( )
१२ असार २०८३, शुक्रबार

बाँके । बाँकेको नेपालगञ्ज सहित जिल्लाको नरैनापुर,जानकी लगायत पालिकाहरुमा धार्मिक सद्भाव, एकता र बलिदानको सन्देश बोकेको मोहर्रम पर्व शुक्रबार ताजिया विसर्जनसँगै औपचारिक रूपमा सम्पन्न भएको छ। दस दिनसम्म विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइएको मोहर्रमको समापन फुलटेक्रास्थित स्थानीय कर्बलामा ताजिया विसर्जन गरेर गरिएको हो।

केन्द्रीय मोहर्रम तथा कर्बला संरक्षण समितिका अनुसार अन्तिम दिन नगरका विभिन्न स्थानबाट बाजागाजासहित ताजिया बोकेर निस्किएका श्रद्धालुहरूको जुलुसले नगर परिक्रमा गर्दै कर्बलामा पुगेर ताजिया विसर्जन गरेको थियो। जुलुसमा मुस्लिम समुदायसँगै विभिन्न धर्म र समुदायका सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

समितिका अध्यक्ष मेराज अहमद हिमालयले मोहर्रमले धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी सद्भावलाई थप मजबुत बनाएको बताउँदै ताजिया विसर्जन जुलुसमा सबै समुदायको उत्साहजनक सहभागिता रहेको जानकारी दिनुभयो।

यसअघि मोहर्रमको नवौं दिन राति नगरका विभिन्न स्थानमा घर–घरमा ताजिया स्थापना गरी झिलिमिली बत्तीले सहरलाई आकर्षक रूपमा सजाइएको थियो। श्रद्धालुहरू रातभर जाग्राम बसेर ताजियाको हेरचाह गरेका थिए भने सर्वसाधारणले विभिन्न स्थानमा पुगेर ताजियाको दर्शन तथा सहरको झिलिमिली अवलोकन गरेका थिए।

मोहर्रम पर्व इराकको कर्बलामा शहीद हुनुभएका पैगम्बर हजरत मोहम्मदका नाति हजरत इमाम हुसैन र हजरत इमाम हसनको बलिदानको स्मरणमा मनाइने गरिन्छ। अरबी पात्रोअनुसार मोहर्रम महिनाको पहिलो दस दिनसम्म उनीहरूको शहादतको सम्झनामा विविध धार्मिक कार्यक्रम आयोजना गर्ने परम्परा रहेको छ ।

यस अवसरमा कागज र काठबाट बनाइएका ताजिया घर–घरमा स्थापना गरिन्छ। मनोकामना पूरा भएपछि भाकलस्वरूप ताजिया राख्ने तथा नवौं दिन रातभर जाग्राम बस्ने परम्परा अझै जीवित रहेको छ। यही कारण मोहर्रम धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सहअस्तित्वको पर्वका रूपमा पनि स्थापित हुँदै आएको छ।

पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको थियो।

यसैबीच मोहर्रम पर्वको प्रचार–प्रसार तथा सकारात्मक सन्देश प्रवाहमा योगदान पुर्‍याएको भन्दै मोहर्रम समितिका प्रवक्ता तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य मोहम्मद हारुन हल्वाइले विभिन्न सञ्चारकर्मीलाई सम्मान गर्नुभएको छ। सम्मानित हुनेहरूमा रेडियो नेपाल बाँकेका संवाददाता आलम खान, गोरखापत्र बाँकेका संवाददाता सेराज खान, स्थानीय पत्रकार जावेद अन्सारी, वसिम अन्सारी र साहिल शेखलगायत रहेको समितिका अध्यक्ष मेराज अहमद हिमालयले दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार