बाँके। बाँकेको डुडुवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५६ करोड ८० लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दै कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, पूर्वाधार तथा संस्थागत विकासलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अघि सारेको छ।
बुधबार सम्पन्न गाउँपालिकाको २०औँ गाउँसभाले आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ सहित नीति तथा कार्यक्रम पारित गर्दै आगामी वर्षका विकास र सेवा प्रवाहका प्राथमिकता तय गरेको हो।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषि, पशुपालन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, विपद् व्यवस्थापन, वन तथा वातावरण संरक्षण, सूचना तथा सञ्चार, लघुउद्यम विकास, पूर्वाधार निर्माण तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखिएको छ।
कृषि क्षेत्रलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने लक्ष्यसहित गाउँपालिकाले बीउ प्रशोधन केन्द्रमार्फत सबै कृषकलाई गुणस्तरीय बीउ उपलब्ध गराउने नीति लिएको छ। गत आर्थिक वर्षमा ३०.२५ मेट्रिक टन बीउ प्रशोधन तथा वितरण गरिएको र ३० मेट्रिक टन गहुँको बीउ संकलन गरिएको गाउँपालिकाले जनाएको छ। वडा नं. ६ मा निर्माण सम्पन्न कोल्ड स्टोरमा ३२ मेट्रिक टन आलु भण्डारण गरिएको उल्लेख गर्दै आगामी वर्षमा कृषि यन्त्र, उपकरण, उन्नत बीउ तथा विषादी निःशुल्क वितरण कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।
किसानको उत्पादनलाई बजारसँग जोड्न गाउँपालिकाभित्र कृषि घुम्ती हाटबजार सञ्चालन गरिने भएको छ। यसबाट स्थानीय उत्पादनको बजारीकरण सहज हुनुका साथै किसानको आयआर्जन वृद्धि हुने अपेक्षा गरिएको छ।
पशु स्वास्थ्य सेवातर्फ घरदैलोमै उपचार, कृत्रिम गर्भाधान, खोप कार्यक्रम, परजीवी नियन्त्रण तथा बाख्राको नस्ल सुधारका लागि बोका वितरण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले वडा नं. २, ३, ५ र ६ मा सञ्चालनमा रहेका स्वास्थ्य प्रयोगशालालाई थप विस्तार गर्ने योजना अघि सारेको छ। “ज्येष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य कार्यक्रम” अन्तर्गत निःशुल्क उपचार, एम्बुलेन्स, स्वास्थ्य बीमा तथा प्रयोगशाला सेवाहरूलाई थप प्रभावकारी बनाइने भएको छ।
घर–घर स्वास्थ्य कार्यक्रममार्फत नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण, दीर्घरोग पहिचान, स्वास्थ्य कार्ड वितरण तथा जनचेतनामूलक अभियान सञ्चालन गरिनेछ। गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क प्रयोगशाला परीक्षण, ग्रामीण अल्ट्रासाउण्ड तथा एम्बुलेन्स सेवाले निरन्तरता पाउनेछ।
वडा नं. ४ मा सञ्चालनमा रहेको आँखा उपचार सेवा केन्द्रलाई आधुनिक उपकरणसहित थप प्रभावकारी बनाइने भएको छ। यस्तै, बेतहनी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइएको डुडुवा प्राथमिक स्वास्थ्य केन्द्रमार्फत ५ शैयाको अस्पताल सेवा र २४ घण्टे आकस्मिक स्वास्थ्य सेवा सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ। आगामी वर्ष सम्पूर्ण डुडुवावासीलाई क्रमशः निःशुल्क स्वास्थ्य बीमामा आबद्ध गर्ने लक्ष्यसमेत लिइएको छ।
शिक्षा क्षेत्रतर्फ बालविवाह न्यूनीकरण र छोरीहरूको उच्च शिक्षामा पहुँच बढाउन कन्या मुद्दती शिक्षा योजना तथा कक्षा १२ उत्तीर्ण छात्रालाई साइकल वितरण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। स्थानीय पाठ्यक्रममार्फत राष्ट्रप्रेम, संस्कार र नैतिक शिक्षामा जोड दिइने तथा लोकसेवा तयारी कक्षा सञ्चालनलाई पनि निरन्तरता दिइने जनाइएको छ।
आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाका लागि सहयोग गर्ने नीति लिइएको छ भने मदरसा, गुरुकुल, गुरुनानक विद्यालय तथा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षासँगै भाषा संरक्षण र विकासमा विशेष जोड दिइने भएको छ।
सूचना तथा सञ्चार क्षेत्रको प्रवर्द्धनका लागि बजेट वृद्धि गरिएको छ। स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिँदै गाउँपालिकाको आमसञ्चार नीति निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ।
संस्थागत विकासतर्फ धार्मिक सद्भाव प्रवर्द्धनका लागि मठ, मन्दिर, मस्जिद, चर्च तथा गुरुद्वाराको पूर्वाधार विकास गरिने भएको छ। ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।
पर्यटन प्रवर्द्धनका लागि वडा नं. २ को रामनगर पाझामा खेल मैदान, पिकनिक स्पट तथा होमस्टे निर्माणसहित एकीकृत पर्यटन विकास योजना सुरु गरिने भएको छ। वडा नं. १ टेपरीमा रिक्सा तथा मोटरसाइकल सञ्चालन गर्न मिल्ने झोलुङ्गे पुल निर्माण कार्य चालु आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
फुसको छाना विस्थापन, विपन्न सहायता कार्यक्रम, खानेपानी धारा विस्तार तथा महिलाको श्रम बोझ न्यूनीकरणका लागि “डुडुवा विशेष प्याकेज” कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ नदी तथा खोलाको कटान नियन्त्रण गर्न जैविक तटबन्ध निर्माणलाई प्राथमिकता दिइएको छ भने वृक्षारोपण अभियानलाई व्यापक बनाइने भएको छ।
लघुउद्यम तथा रोजगार प्रवर्द्धनका लागि सीपमूलक तालिममार्फत आयआर्जन वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिनेछ। खेलकुद क्षेत्रको विकासका लागि विभिन्न खेल सामग्री वितरण, क्लब तथा समूहलाई प्रोत्साहन र छात्राहरूका लागि विद्यालयस्तरीय जुडो प्रतियोगिता कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
गाउँसभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत विक्रम गिरीले सञ्चालन गर्नुभएको गाउँसभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।